सातै प्रदेशमा पानी पर्ने, सुदूरपश्चिम र गण्डकीमा भारी वर्षाको सम्भावना

काठमाडौँ । अहिले (मंगलबार बिहान) काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् बिनु महर्जनका अनुसार यतिबेला बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदशेका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।



दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै तथा गण्डकी, लुम्बिनी, बागमती र कोशी प्रदेशका पहाडी भूभागका केही स्थान साथै मधेश प्रदेशका एक वा दुई ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस क्रममा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षासमेत हुने सम्भावना छ।

यसैगरी राति देशका पहाडी भूभागका केही र बाँकी भूभागका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

महाशाखाले आगामी २४ घण्टा (बुधबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

जसमा भनिएको छ, ‘कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा गण्डकी, लुम्बिनी, बागमती र कोशी प्रदेशका पहाडी भूभागका केही स्थान र मधेश प्रदेशका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

सुदूरपश्चिम प्रदेशका तथा गण्डकी प्रदेशका एक÷दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। तसर्थ हावाहुरी, भारी वर्षा, मेघगर्जन/चट्याङ, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

तपाईको प्रतिक्रिया