सुर्खेत । बुलबुले क्षेत्र कर्णालीकै प्रमुख पर्यटकीयस्थल मध्यको एक हो । व्यवस्थित र आकर्षक पर्यटकीय गन्तव्य बुलबुले धारादेखि करिब एक सय मिटरको दुरीमा छ बुलबुले ताल । तालमा कुनैबेला डुंगा सञ्चालन गरिएको थियो । तर विस्तार गरेर अझै आकर्षकीय गन्तव्य बनाउनमा प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाले विभिन्न समयमा लगानीसमेत गरेका थिए ।
ताल क्षेत्र विस्तार गर्दा पानी लिकेज (चुहावट) हुँदा चौतर्फी आलोचना बढेको थियो । आर्थिक वर्ष २०७६-०७७ मा प्रदेशको वन निर्देशनालयले दुई करोड खर्च गरेर ताल विस्तार गरेपनि पानी नभरिदा बुलबुले अवलोकन गर्न पुग्नेहरु निराश भएर फर्किने गरेका थिए ।
यद्यपी, आन्तरिक र बाह्य पर्यटकहरुको आकर्षकको केन्द्र बुलबुले बनाउनेमा प्रदेश र वीरेन्द्रनगर नगरपालिकाले ताल क्षेत्रको पानी लिकेज (चुहावट) रोकेपछि अब स्ट्रिम बोट सञ्चलानको तयारी थालिएको छ ।


१२ हजार बर्गमिटर क्षेत्रफलमा रहेको ताल विस्तार गरेर हाल २८ हजार पाँचसय वर्गमिटर क्षेत्रफलमा विस्तार गरिएको छ । सुर्खेत उपत्यका नगर विकास समितिले तयार पारेको गुरूयोजनाअनुसार प्रदेश सरकार र समितिको संयुक्त लगानीमा ताल क्षेत्रको पानी चुहावट बन्द गरिएको हो ।
‘प्रदेश र समितिको संयुक्त लगानीमा ताल क्षेत्रको माटो निकालेर पानी चुहावट रोक्ने काम सफल भएको छ,’ वीरेन्द्रननगरका प्रमुख समेत रहेकी समितिका अध्यक्ष माेहनमाया ढकालले भनिन्, ‘ताललाई अझै व्यवस्थित र आकर्षक बनाएर पर्यटकहरुको रोजाइको ताल बनाएर डुंगा चलाउने तयारीमा छौं ।’
ताल क्षेत्रको माटो निकाल्ने र चुहावट रोक्न समितिले करिव ३३ लाख रकम खर्च गरेको छ । हाल तालको पूरै भागमा पानी भरिएपछि शुरुमा स्ट्रिम बोट सञ्चलान गर्न लागेको ढकालले जानकारी दिइन् ।
‘स्ट्रिम बोटका समितिले आफै चलाउने की ठेक्का दिने छलफल भइरहेको छ,’ ढकालले भनिन्, ‘दशैं अगावै बुलबुले तालमा डुंगा चलाउछौं, यसले तालप्रतिको हालको वितृष्णा कम हुने र आन्तरिक तथा बाह्य पर्यटक बढ्ने अपेक्षा लिएको छु ।’ तालमा पानी भरिएसँगै घाँस उम्रिएकाले स्ट्रिम बाेटमा जडित मेसिनेले नै घाँस काट्ने भएकाले तालकाे साैन्दर्यता थप बढ्ने ढकालले बताइन् ।
ईत्राम खोलाकाे दुबै किनारामा लगाइयाे बार
अनाधिकृत रूपमा बुलबुले क्षेत्रमा प्रवेश गर्नेहरू बढेपछि दक्षिण क्षेत्रको विच भागबाट बग्ने इत्राम खोलाको दुवै किनारामा बार लगाइएको छ । दक्षिण क्षेत्रमा रहेको (पिकनिकस्थल) वनभाेजस्थलमा खुला क्षेत्रका कारण सहजै नागरिकहरु आवतजात गर्न थालेपछि खोलाको दुवै किनारामा बार लगाइएको हाे ।


प्रदेश सरकारको ६० लाख लगानीमा बार लगाउने काम अन्तिम चरणमा छ । दुवै क्षेत्रमा बार लगाएपछि बुलबुले प्रवेश गर्न मुख्य गेटबाट बाहेक अनेत्रबाट अनावश्यक रुपमा भित्र छिर्न बन्द भएको छ ।
साथै, बुलबुलेको चारैतर्फ लगाइएको फलामसहितको कम्पाउण्डवालमा आरसीसी वालमा रुपान्तरण गरिएको छ । करिव ५८ लाख लागतमा आरसीसी वालको काम सकिएको भू–जलाधार तथा संरक्षण कार्यालयका प्रमुख शेखर चपाइँले नेपालकर्मलाई जानकारी दिए ।

उनले वालमा रंगरोगन र पर्खालको माथि एंगल राख्न बाँकी रहेको बताए । दुवै काम सम्पन्न गर्न लामिछाने निर्माण सेवाले जिम्मा पाएको छ । ‘आरसीसी वाल र एंगलको सकिएपछि पर्खाल नाघेर आउन मिल्दैन,’ प्रमुख चपाईले भने, ‘यसअघि जुनसुकै ठाउँबाट छिर्न सकिने बुलबुलेमा पूर्ण रुपमा बन्द हुने अपेक्षा छ ।’
समितिको आन्तरिक आम्दानीको प्रमुख स्रोत बुलबुले क्षेत्र हो । साढे ३१ बिघा क्षेत्रफलमा फैलिएको बुलबुले प्रमुख पर्यटकीय गन्तव्य बन्न पुगेको छ। कर्णाली आउने हरेक पर्यटकको रोजाइँमा बुलबुले पनि पर्ने गरेको छ। हाल दैनिक विदा बाहेकको दिनमा एक हजार र विदाको दिन करिव तीन हजार जना नागरिकहरु बुलबुले ताल पुग्ने गरेका छन् ।
विसं २०२९ देखि सरकारी तवरबाट बुलबुलेको संरक्षण हुन थालेको हो। बुलबुले क्षेत्रको विकास तथा विस्तारमा प्रदेश सरकारका साथै सङ्घीय सरकार र वीरेन्द्रनगर नगरपालिकाको पनि साझेदारी रहेको छ।
बुलबुलेको मुख्य आकर्षण जमिनमुनिबाट बुलबुल भएर आउने पानीको संकलन गरी बनाइएका कलात्मक धारा र पार्क हुन्। तालको पूर्वतर्फ महिला तथा दक्षिणतर्फ पुरूषका लागि पाँच-पाँच वटा धारा छन्।

सुशील खड्का । ३१ असार २०८०, आईतवार १८:३२