सुर्खेत । कर्णालीकै एक मात्र सुविधा सम्पन्न प्रदेश अस्पताल विरामीहरुको पहिलो रोजाईको अस्पताल हो । अस्पतालमा दैनिक सयौंको संख्यामा विरामीहरु सेवाका लागि पुग्ने गर्दछ । वीरेन्द्रनगर आसपासका विरामीहरुका आफन्तहरुले प्रायः घरबाट खाना लैजाने गर्दछन् ।

तर उपत्यका बाहिर र अन्य जिल्लाबाट सेवा लिन आएका विरामीहरुलाई अस्पतालले दैनिक निःशुल्क रुपमा खान उपलव्ध गराउँदै आएको छ । विहान र साँझ खाना तथा दिउँसो चिया विस्कुट अस्पतालले उपलव्ध गराउँछ ।

तर ग्यास वा दाउराबाट खाना पकाउँदा खर्चिलो भएपछि अस्पतालले खाना पकाउन लागि सोलार स्ट्रिम निर्माण गरेको हो । अस्पतालमा विरामीको चाप बढेपछि एकै पटक धेरैलाई सेवा प्रदान गर्न असहज बन्ने देखिएपछि खाना पकाउनकै लागि सोलार स्ट्रिम जडान गरिएको निर्देशक प्रा.डा. डम्बर खड्काले नेपालकर्मलाई जानकारी दिए ।

‘सेवाग्राहीको चाप बढ्दै जाँदा अस्पतालले व्यवस्थापकीय पाटोहरुलाई सुधार गर्न व्यापक रुपमा लागेका छौं,’ खड्काले भने, ‘खाना पकाउने सोलार स्ट्रिम तयार भएपछि दैनिक पाँच सय विरामीहरुलाई निःशुल्क खाना दिन सहज हुने अपेक्षा छ ।’
अस्पतालको इमरजेन्सी भवनको पश्चिम क्षेत्रमा सोलार स्ट्रिम जडान गरिएको छ । घामको प्रकाश सोलारको माध्यमबाट प्लान्टमा रहेको चिसोपानीलाई तातो बनाउँछ । तातोपानीबाट बाफमा रुपान्तरण भएर प्लान्टमा जम्मा हुन्छ ।
प्लान्टमा जम्मा भएको तातो बाफ पाइपको माध्यमबाट भान्सासम्म पुग्छ । भान्सामा ३६ ओटा क्याविनेट जडान गरिएको छ । जहाँ खाना पकाउने विशेष भाडाहरुलाई तातो बाफले तताएर खाना बनाउने प्रक्रिया शुरु हुन्छ ।
प्रति क्याविनेटमा एक पटकमा पाँचदेखि सात केजीसम्म चामल पकाउन सकिन्छ । खाना पाक्न कम्तिमा आधा घण्टादेखि ४० मिनेट लाग्ने अस्पतालका सूचना अधिकारी विनोद बस्नेत बताउँछन् ।


कुनै दिन घामको प्रकाश राम्रो नभएमा विकल्पका रुपमा एलपी ग्यासबाट समेत तातो बनाइराख्न विकल्पसहित अस्पतालले सोलार स्टिम जाडन गरेको बस्नेतको भनाई छ ।
विरामीलाई निःशुल्क अरुलाई सशुल्क
अस्पतालले हाल दैनिक रुपमा अस्पतालमा भर्ना विरामीहरुलाई मात्रै निःशुल्क खाना उपलव्ध गराउँदै आएको छ । कम्तिमा दैनिक एक सय जना बढी विरामीहरुले खाना र नास्ता पाउने गरेका छन् ।
यो संख्या बढाउने र विरामीका आफन्त तथा अस्पतालका स्टाफहरुलाई समेत पाउनेगरी क्यान्टिन चलाउने तयारी अस्पतालको छ । हाल अस्पताल परिसरमा क्यान्टिन नहुँदा विरामीका आफन्त र अस्पतालमा कार्यरत कर्मचारीहरु नास्ता वा खाना खान अस्पताल बाहिर जानुपर्ने बाध्यता छ ।
‘अस्पताल परिसरमै क्यान्टीन सञ्चालनमा ल्याउँदा सबैलाई राहत हुन्छ,’ निर्देशक खड्काले भने, ‘सम्भवत भदौदेखि पूर्ण रुपमा इमरजेन्सी भवन रहेको ग्राउण्ड फ्लोरबाट क्यान्टीनसहित सेवा शुरु गर्न लागेका छौं ।’
सोलार स्ट्रिम निर्माणसँगै वातावरण प्रदुषण हुनबाट जोगिने र सबैले ताजा तथा फ्रेस खाना वा नास्ता खान पाउने खड्का बताउँछन् । उनले खाना पकाएर फ्रिजमा राख्नुभन्दा याे विधिले अस्पतालकाे खर्च बच्ने र सबैलाइ राहत हुने अपेक्षा लिएकाे जनाए ।
कतिमा बन्यो सोलार स्ट्रिम ?
दुई करोड ९७ लाखको लागतमा निर्माण गरिएको सोलार स्ट्रिमको भौतिकतर्फको सबै काम सकिएको सूचना अधिकारी बस्नेतले जानकारी दिए । उनकाअनुसार सनवर्क्स नेपाल काठमाडौंले सोलार स्ट्रिम जडानको लागि पुसमा जिम्मा लिएको हो ।
हाल सोलार स्ट्रिमको परीक्षणको काम सकिएको छ । केही सामान्य काम बाहेक लगभग निर्माणको सबै काम सकेर निर्माण व्यवसायीले अस्पताललाई हस्तान्तरण गर्ने तयारीमा रहेको बस्नेतले बताए ।

सुशील खड्का । २६ असार २०८०, मंगलवार १४:१८