मौसम सम्भावना : आज सबै प्रदेशमा पानी पर्ने, भोलिबाट वर्षा अझ बढ्ने

काठमाडौँ । आज (आइतबार) सबै प्रदेशमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। अहिले बिहान पनि लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् बिनु महर्जनले जानकारी दिइन्।



‘आज सबै प्रदेशमा पानी पर्ने सम्भावना छ’, उनले भनिन्, ‘आज हिजोअस्तिको भन्दा केही कम वर्षा हुने सम्भावना छ, तर भोलि (सोमबार) बाट वर्षा अलि बढ्ने सम्भावना छ।’

उनका अनुसार मनसुनको न्यून चापीय रेखा (Axis of Monsoon Trough) सरदर स्थानभन्दा दक्षिण हुँदा वर्षा केही कम हुने र उत्तर सर्दा वर्षा बढ्ने गर्छ।

‘आज न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिण छ, त्यसैले हिजोअस्तिभन्दा वर्षा अलि कम हुने सम्भावना छ’, मौसमविद् महर्जनले भनिन्, ‘भोलिचाहिँ यो रेखा सरदर स्थानभन्दा उत्तर आउने भएकाले वर्षा बढ्ने सम्भावना देखिएको हो।’

यसैबीच आज काठमाडौं उपत्यकामा पनि वर्षा हुने सम्भावना रहेको उनले बताइन्।

मौसम महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आगामी मंगलबारसम्म यस्तो छ वर्षाको सम्भावना–

असार २४ आइतबार (आज)

दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।

राति : देशभर आंशिकदेखि सामान्य रहनेछ। कोशी र गण्डकी प्रदेशलगायत देशका तराईका केही स्थानमा तथा बाँकी भूभागका थोरै स्थानण्मा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।

असार २५ सोमबार

दिउँसो : देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।

राति : देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी र गण्डकी प्रदेशलगायत सहित देशका तराईका धेरै स्थानमा तथा बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।

असार २६ मंगलबार

दिउँसो : देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।

राति : देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी प्रदेशलगायत देशका तराईका केही स्थानमा तथा बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। मधेश प्रदेशलगायत कोशी र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ।

मौसमी भाषाको अर्थ–

मौसमविद्का अनुसार १० मिलिमिटरभन्दा कम पानी पर्नुलाई हल्का वर्षा, १० मिलिमिटरदेखि माथि ५० मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई मध्यम वर्षा तथा ५० भन्दा माथि सय मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई भारी वर्षा भनिन्छ। यस्तै सय मिलिमिटरभन्दा माथि र दुई सयभन्दा मुनि मिलिमिटर पानी पर्नुलाई धेरै भारी वर्षा भनिन्छ। अनि २ सय मिलिमिटरदेखि माथि पानी पर्नुलाई अति भारी वर्षा भनिन्छ।

यस्तै सम्बन्धित क्षेत्रको १० प्रतिशत भूभागमा मात्रै वर्षा हुनुलाई एक/दुई स्थान, १० देखि ३० प्रतिशत भूभागमा पानी पर्नुलाई थोरै स्थान, तोकिएको क्षेत्रको ३० देखि ५० प्रतिशत भूभागमा वर्षा हुनुलाई थोरै स्थान, ५० देखि ८० प्रतिशत भूभागमा पानी पर्नुलाई केही स्थान, ८० प्रतिशतभन्दा बढी भूभागमा वर्षा हुनुलाई अधिकांश स्थानमा वर्षा हुने भनेर बुझ्नुपर्ने मौसमविद् बताउँछन्।

यस्तै मौसम महाशाखाले दिउँसो भन्नाले दिन अर्थात् बिहान ६ बजेदेखि साँझ ६ बजेसम्मको समयलाई मान्ने गरेको छ भने राति भन्नाले साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको समय हो।

तपाईको प्रतिक्रिया