सुर्खेत । हिमपहिरोमा परी बेपत्ताहरुको खोजी गर्न सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मुगु पुगेको छ। मुगुको कार्मारोङ गाउँपालिका–२ च्यार्खु लेकमा यार्सा टिप्न गएका जुम्लाका ३ जना हिमपहिरोमा परी बेपत्ता छन्।

जिल्ला प्रशासन कार्यालय (मुगु) का प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले हिमपहिरोमा परी बेपत्ताहरुको खोजीका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मुगु पुगेको जानकारी दिए।

उनका अनुसार हेलिकप्टर मुगु पुगेर पहिलो चरणमा दुईजना सुरक्षाकर्मी लिएर घटनास्थलतर्फ गएको छ।
उनले भने, ‘सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मुगु पुगेर पनि सुरक्षाकर्मीलाई बेपत्ताहरुको खोजी र उद्धारका लागि घटनास्थलमा पुर्याउने काम भइरहेको छ। पहिलो चरणमा उद्धार सामग्री र दुईजना सुरक्षाकर्मी लगेर गएको छ। अब फर्किएर अरु सुरक्षाकर्मीलाई लगेर जान्छ।’

बेपत्ताहरुको खोजी र उद्धारका लागि आइतबार बसेको कर्णाली प्रदेश सरकारको सुरक्षा समितिको बैठकले हेलिकप्टर पठाउने निर्णाय गरेको थियो।
घटना वैशाख २२ गते दिउँसो २ बजेको भए पनि प्रत्यक्षदर्शीहरूले शनिबार साँझ मात्र जानकारी दिएकाले उद्धारमा ढिलाइ भएको बताइएको छ।
स्थानीयका अनुसार हिमपहिरोमा जुम्लाको पातारासी–२ तल्फीगाउँका ४० वर्षीय तारासिंह सार्की, ३६ वर्षीय पुन्न सार्की र ३६ वर्षीय वीर बोहोरा बेपत्ता भएका हुन्। अहिलेसम्म उनीहरुको अवस्था अज्ञात छ।

नेपाल कर्म । २५ बैशाख २०८०, सोमबार १०:१४