पाेखरा । राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गराएको उपचार खर्चको रकम निकासा गरिदिन परराष्ट्र मन्त्रालयले अर्थ मन्त्रालयलाई लेखेको पत्र बाहिरिएपछि यो विषय अहिले चर्चामा छ।
नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियु र युवा संघले ‘एक रुपैयाँ दान अभियान’ सुरु गरेका छन्। यी दुई संगठनले पोखरामा गण्डकी प्रदेशसभा बाहिर बुधबार चन्दा संकलन गरेका छन्।


भित्र संसद चलिरहँदा बाहिर अनेरास्ववियु र युवा संघमा आबद्धले चन्दा संकलन गरिरहेका थिए। संसद सकिएर बाहिर निस्किदा निवर्तमान मुख्यमन्त्री एवं नेकपा एमाले नेता खगराज अधिकारीसहित सांसदहरूले चन्दा दिएका थिए।

अधिकारीले राष्ट्रपतिका लागि भन्दै पाँच रुपैयाँ चन्दापेटिकामा हालिदिएका थिए । उनीपछि एमाले सांसद भीमबहादुर कार्की, प्रकाशबहादुर केसी, लक्ष्मणबहादुर पाण्डे, राजकुमारी भुजेल, भक्तबहादुर कुँवर, मित्रलाल बस्याल, यशोधा रिमाल, पद्मा जिसीलगायतले पनि चन्दा दिए ।
पोखरासहित प्रदेशभर अभियानमार्फत उठ्ने पैसा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत राष्ट्रपति कार्यालयमा पठाइने अनेरास्ववियु गण्डकी संयोजक आरके पोखरेलले बताए । राष्ट्रपतिले सस्तो लोकप्रियताको लागि उपचार खर्च आफैँ व्यहोर्न चाहेको भनिएको र पछि पैसा मागेको भन्दै अहिले उनको आलोचना भइरहेको छ ।

नेपाल कर्म । २० असार २०८०, बुधबार १५:१४