काठमाडौं । विवादका बीच रिलिज भएको भारतीय फिल्म ‘द केरला स्टोरी’ले पहिलो दिन ८ करोड भारु कमाएको छ । करिब २८ करोड बजेटमा बनेको यो फिल्मको आँकडा निकै सानदार मान्न सकिन्छ ।

फिल्म रिलिजका लागि उच्च अदालतदेखि सर्वोच्च अदालतमा निवेदन परेको थियो तर अदालतले ती निवेदन खारेज गरेको थियो । फिल्मले रिलिजसँगै उत्कृष्ट ओपनिङ पनि गरेको छ । पहिलो दिनको कमाइको मामिलामा पनि यसले अक्षय कुमार र कार्तिक आर्यनको फिल्मलाई पछाडि छोडेको छ । बलिउड ब्यापार विश्लेषकका अनुसार फिल्मले बक्स अफिसमा ८ करोड भारु कलेक्सन गरेको हो । दर्शकको बढ्दो संख्यालाई मध्यनजर गर्दै भारतका धेरै थिएटरले अतिरिक्त शो बढाएका छन् ।

सप्ताहन्त सुरु भइसकेकोले शनिबार र आइतबार फिल्मले राम्रो कमाई गर्न सक्छ । माउथ पब्लिसिटी निकै बढेको छ । मानिसले यो फिल्मलाई कश्मीर फाइलसँग जोडेर हेरिरहेका छन् । कम बजेटमा बनेको, कश्मीर फाइलले ३०० करोडभन्दा बढी कमाएको थियो ।
यो वर्ष हिन्दी फिल्मको कलेक्सन अहिलेसम्म निकै सामान्य छ । मे महिना सुरु भइसकेको छ तर अहिलेसम्म पहिलो दिन राम्रो ओपनिङ गर्ने पाँच फिल्म मात्रै छन् । शाहरुख खानको ‘पठान’ले ५५ करोड भारुमा इतिहासकै सबैभन्दा ठूलो ओपनिङ गरेको थियो । सलमानको ‘किसी का भाइ किसी की जान’ १५.८१ करोड रुपैयाँ कमाएर दोस्रो नम्बरमा छ ।
रणवीर कपूर स्टारर फिल्म ‘तू झुठी मैं मक्कार’ १५.७३ करोड भारुसहित वर्षको तेस्रो उच्च ओपनर हो । जबकि अजय देवगनको ‘भोला’ ११.२० करोड भारुसहित चौथो नम्बरमा छ । अब ‘द केरला स्टोरी’ पनि ८ करोड भारुसहित सूचीमा पाँचौं नम्बरमा आएको छ ।

विशेष कुरा यो हो कि यसले अक्षय कुमार र इमरान हाश्मी स्टारर फिल्म सेल्फी र कार्तिक आर्यन–कृति सेनन स्टारर फिल्म शहजादाको ओपनिङ डे कलेक्सनलाई पछाडि छोडेको छ । सेल्फीले २.५५ करोड भारु ओपनिङ गर्यो भने शहजादाले पहिलो दिन ६ करोडको कलेक्सन गर्यो । यस्तै अर्को विवादास्पद फिल्म ‘द कश्मीर फाइल्स’ले रिलिजको पहिलो दिन ३.५ करोड रुपैयाँ कमाएको थियो ।
‘द केरला स्टोरी’लाई फिल्म निर्माता सुदिप्तो सेनले निर्देशन गरेका हुन् । फिल्म आफ्नो कथालाई लिएर विवादमा छ । रिलिजको विरोधमा यो मुद्दा सर्वोच्च अदालतसम्म पुगेको थियो । तर, अदालतले फिल्मको रिलिज रोक्न अस्वीकार गरेको थियो । फिल्मको कथा केटीहरुको धर्म परिवर्तनमा आधारित छ ।
आतंकवादी सङ्गठन आइएसआइएसले कसरी युवतीलाई प्रलोभनमा पारेर आफ्नो समूहमा भर्ती गर्छ भन्ने कुरा फिल्ममा देखाइएको छ । फिल्मको बारेमा कुरा गर्दै फिल्मका निर्देशक सुदिप्तो सेनले भने, ‘जब कसैले कसैलाई माया गर्छ र उसको लागि अर्को धर्म ग्रहण गर्छ भने त्यसमा कुनै अप्ठ्यारो छैन, तर जब धर्म परिवर्तन कुनै खास नियतका साथ भइरहेको छ भने त्यो निकै महत्वपूर्ण हुन्छ ।’
सुदीप्तोले भने, ‘मैले यस विषयमा सात वर्ष अनुसन्धान गरें । त्यसपछि विगत दुई–तीन वर्षदेखि निर्माता विपुल शाहसँग रिसर्च गरिरहेँ । डकुमेन्ट्री पनि बनाएको थिएँ, लण्डनबाट अवार्ड पनि पाएको थियो ।’ यी सात वर्षमा हामीले हिसाब ग¥यौं । त्यसैको आधारमा करिब ३२ हजार मानिसको धर्म परिवर्तन भएको थियो । तर, केरलाका स्थानीय जनताले ५० हजारभन्दा बढी धर्म परिवर्तन भएको बताएका छन् ।

नेपाल कर्म । २४ बैशाख २०८०, आईतवार ११:४३