सुर्खेत । आइतबार (असार १७) गते बिहान करिब ३ बजे। जुम्ला जिल्लाको तातोपानी गाउँपालिका–४ गिडीखोलामा रहेको एक घरमा आगलागी भयो। आगलागी भएको १ घण्टापछि मात्रै स्थानीयले थाहा पाए। बिहान ३ बजेको समय भएका कारणले कसैले पनि घरमा आगो लागेको कुरा पत्तो पाएनन्। किनकी ३ बजेसम्म स्थानीय मिठो निद्रामा थिए।
त्यसपछि बिहान ४ बजेको समयमा मात्रै स्थानीयले जानकारी पाए। गिडीखोला गाउँको गिडीचौर बस्तीको बीचमा रहेको घरमा धूवाँको मुस्लो देखिएपछि गाउँलेहरूले निभाउने कोसिस गरेका थिए। त्यतिन्जेल घर जलेर नष्ट भइसकेको थियो।
घरमा आगो लागेको कुरा गाउँभरी फैलियो। तर, घरमा कोही पनि नभएका कारणले मानवीय क्षती भने हुनपाएन्। तर, तीन तलाको कच्ची घर र घर भित्र रहेको सबै सामान जलेर नष्ट भयो। आगलागीको खबर पाएपछि हाँकु चौकीबाट असई राजेन्द्र गिरी नेतृत्वको टोली घटनास्थलमा पुगेको थियो। उ

क्त घर अन्तरजातीय बिबाह गरेका २१ वर्षीय मुकेन्द्र नेपालीको थियो। आगो लगाउने व्यक्ती सोही ठाउँका २२ वर्षीय हिक्मत गिरी रहेको प्रहरीले जनाएको छ।
के हो घटना कसरी लाग्यो घरमा आगो ?
विगत तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका मुकेन्द्र नेपाली र सोही ठाउँकी किशोरी बसन्ती गिरीले असार १२ गते भागेर बिबाह गरे। अन्तरजातीय बिबाह समाजले स्वीकार नगर्नेभएपछि उनिहरुले भागेर बिबाह गर्ने स्थितिमा पुगे।
मुकेन्द्रका दाई भरत नेपालीले उनीहरु दुई/तीन वर्षदेखि प्रेम सम्बन्ध रहेको जानकारी दिए। उनले भने, ‘उनिहरु लामो समयदेखि प्रेम सम्बन्धमा भएको कुरा सुन्नमा आएको थियो। तर, दुई तीन महिना अगाडी मात्रै कुमेन्द्र गाउँ गएका थियो। मेरो भाइ १२ पास गरेर लोकसेवाको तयारीमा घर बाहिर थियो। उ सँग मेरो भेट नभएको पनि सात/आठ महिना जति भयो।’
भरत कामको शिलशिलामा जुम्ला जिल्लामा बसोबास गर्दछन्। भरतलाई भाईले बिबाह गरेको कुरा असार १३ गते मात्रै जानकारी पाएका थिए। उनले भने, ‘भाईले १२ गते केटीलाई भगाए छ। मलाई माईतीपक्षले १३ गते मात्रै जानकारी दिएपछि थाहा पाएँ। माईतीपक्षबाट केटीको आन्टी नाता पर्ने नारायणी जैशीले जानकारी गर्नुभएको थियो। खोज्नु प¥यो भनेर भन्नु भयो। तर, उनिहरु आजसम्म सम्र्पकमा छैन्।’
यस्तै, मुकेन्द्र र बसन्ती भागेर अन्तरजातीय बिबाह गरेको काठमाडौँमा बस्ने बसन्तीका दाई हिक्मत गिरीले पनि थाहा पाए। अध्ययनका लागि काठमाडौँमा रहेका हिक्मत असार १६ गते मात्रै जुम्ला गाउँमो पुगे। हिक्मतले मुकेन्द्रको घरमा असार १७ गते बिहान आगो लगाईदिए।
भरत नेपालीले भने, ‘मेरो भाईले केटीलाई भगाएपछि मात्रै १६ गते हिक्मत गाउँमा देखियो। उनि काठमाडौँबाट आएको रहेछन्। मादक पदार्थ सेवन गरेर ‘डुम’ दलितले मेरो बहिनी भगाएर लग्ने भन्ने अभिव्यक्ती दिएका थिए। तर, १७ गते बिहान घरमा आगो लगाएर नष्ट गरिदिएछन्।’
मुकेन्द्र घरको कान्छो भाइ हुन्। घरमा साइलो दाई तीर्थ नेपाली र उनि मात्रै बस्ने गर्थे। आगो लगाउनुको दिन तीर्थ नेपाली गाउँमै रहेको दिदीको घरमा बाँस बस्न गएका थिए।

गिडीखोलाको उक्त बस्तीमा २८ घरधुरी दलित समुदाय छन्। गाउँलेहरू दुबै जनालाई खोजेर ल्याएपछि छलफल गर्ने तयारीमा थिए। यसमा आफू पनि सकारात्मक वातावरण बनाउन तयार रहेको भरतले बताए।
घरमा आगो लगाउने विरुद्ध मुद्दा दर्ता
यस्तै, भरत नेपालीले आगो लगाउने हिक्मत गिरी, उनका बुबा श्रीराम गिरी र काका नारायण गिरीविरुद्ध मुद्दा दर्ता गरेका छन्।
भरतले हिक्मत, उनका बुबा र काकाको विरुद्धमा नाममा जाहेरी दर्ता गराएको जानकारी दिए। उनले भने, ‘यो एक जनाको आँटले मात्रै गरेको घटना नभइ सुनियोजित भएको हुँदा तीन जनाको विरुद्धमा मुद्दा दर्ता गरेको हुँ।’
जुम्लाका प्रहरीकाअनुसार किशोरीका दाइले आवेगमा आएर घरमा आगो लगाएउनले हिक्मत गिरीसहित उनका बुबा र काका विरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २८५ को उपदफा ३(घ) र उपदफा ४ बमोजिमको तथा मुलुकी अपराध संहिता २०७४ को दफा १६६ को उपदफा १ र उपदफा २(१) बमोजिमको सजायको माग गरि मुद्दा दर्ता गरिएको छ।
यस्तै, जुम्ला प्रहरीले केटाकेटीको खोजीको लागि कर्णाली प्रदेशभरिका प्रहरी इकाइलाई जानकारी गराईसकेको छ।
घरमा आगो लगाउँने हिक्मत पक्राउ
मुकेन्द्रको घरमा आगो लगाउँने बसन्तीका दाई हिक्मतलाई जुम्लाका प्रहरीले आइतबार नै पक्राउ गरेको छ। जुम्लाका डिएसपी प्रल्हाद कार्कीले घरमा आगो लगाउने हिक्मतलाई पक्राउ गरिएको जानकारी दिए।
उनकाअनुसार किशोरीका दाइले आवेगमा आएर घरमा आगो लगाएको बयान दिएका छन्। भरतले बिहानै घर जलाएको आरोपमा किशोरीका बुबा, काका र दाजुको नाममा प्रहरी चौकी हाँकुमा निवेदन दिएपछि हिक्मत पक्राउ परेका हुन्।
हिम्मतलाई तारा एयरको जहाज चढेर नेपालगन्ज उड्ने तयारीमा रहेका बेला सदरमुकाम खलंगाको कालेखोलीदेखि प्रहरीले नियन्त्रणमा लिएको हो।
आगलागीबाट ६५ लाख बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ।

नेपाल कर्म । १९ असार २०८०, मंगलवार ०९:०४