सुर्खेत । पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका सांसद विनोदकुमार शाहले १५ लाख भन्दा तलका योजनाबाट कटौती गरेको बजेट महत्वपूर्ण योजनामा हाल्नुपर्ने बताएका छन्। सोमबार बसेको कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको दोस्रो अधिवेशनको अठारौं बैठकमा बोल्दै शाहले यस्तो बताएका हुन्।

कर्णाली सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ मा विनियोजन गरेका योजनामा अधिकाशं १५ लाख भन्दा कम बजेटका रहेका छन्।

आइतबार कर्णाली सरकार र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेबीच सात बुँदे सहमतिमा १५ लाख भन्दा कमका योजना कार्यान्वयन नगर्ने निर्णय गरेको छ।

उक्त निर्णयअनुसार शाहले प्रेदशमा रहेका महत्वपूर्ण योजनमा बजेट व्यवस्थापन गर्नुपर्ने सुझाव दिए। उनले भने, ‘दुई अर्ब कर्णाली राजमार्ग, कर्णाली करीडोर र भेरी करीडोरलाई छुट्याउन कसले रोक्यो?
सरकारले हरेक वर्ष प्रत्येक सडकलाई दुई अर्बको बजेट विनियोजन गरेको खण्डमा कर्णालीमा विकासले फड्को मार्छ। कसैको मुख ताक्नु पर्दैन्।’
उनले थपे, ‘हामीले आफ्नो विकास आफै गर्ने हो। आफ्नो खुट्टामा आफै उभिनु सक्नुपर्छ।’

नेपाल कर्म । १८ असार २०८०, सोमबार १६:०८