दैलेखमा छाेरी जन्मिएको १ घण्टापछि आमाकाे मृत्यु, खाएकी थिइन् चाउचाउकाे झोल

सुर्खेत । दैलेखको आठबीस नगरपालिका–६ रोलकी एक सुत्केरी महिलाको मृत्यु भएको छ। शुक्रबार साझ करिब ७ बजेको समयमा २२ वर्षीया रमिता विकको मृत्यु भएको हो।



आठबीस नगरपालिका–६ का वडा अध्यक्ष नवराज शर्माले रमिता सुत्केरी भएको एक घण्टा भित्र मृत्यु भएको जानकारी दिए।

उनकाअनुसार रमितालाई जेठ २९ गते सुत्केरी हुने समय अस्पतालले दिएको थियो। तर, कुनै व्यथा नगालेपछि परिवारले रमितालाई स्वास्थ्य संस्थामा लगेन्।

शुक्रबार (असार १५ गते) दिउँसो मात्रै सुत्केरी व्यथा लागेपछि करिब ६ बजेको समयमा रमिताले छोरीलाई जन्म दिएकी थिइन्।

‘सुत्केरी हुने मिती जेठ २९ गते रहेछ। शनिबार दिउँसो पनि कुनै व्यथा लागेको रहेन्छ। तर, रमिताले दिउँसो ४ बजे अलिकति पेट दुख्यो भनिछिन्। घरपरिवारले सामान्य सोचेर स्वास्थ्य चौकी लिनको लागि कुनै सुरसार गरेनछन्।’ वडाअध्यक्ष शर्माले भने। ‘साढे ५ बजेको समयमा नर्मल तरिकाले बच्चा जन्मिएछ।’

रमिताका परिवारले वडाध्यक्षलाई दिएको जानकारी अनुसार बच्चा जन्मिएको आधा घण्टापछि रमिताले खुट्टा दुख्यो भनेपछि, चाउचाउको झोल र भात खान दिएका थिए। त्यसपछि रमिताले मुटु नजिक बेस्सरी दुख्यो भनेर बोल्नै छोडेको केही समयपछि वडाध्यक्षलाई परिवारले जानकारी गराएका थिए।

वडाध्यक्ष शर्माले भने, ‘रमिताको परिवारले घटनाबारे ६ः३८ बजेमो समयमा जानकारी दिएपछि म डाक्टर लिएर जाने क्रममा थिएँ। फेरी ७ बजेको समयमा सुत्केरीको मृत्यु भयो भनेर फोन आयो।’

रमिताले पहिलो पट्क छोरीलाई जन्म दिएकी थिइन्।

परिवारकाअनुसार रमिता सुत्केरीभएपछि कुनै प्रकारको रक्तश्राव देखिएको थिएन् भने गर्भवतीको समयमा रमितालाई पखाला लाग्ने, रक्तश्राव हुने खालको समस्या थियो।

मृतक रमिताको शनिबार दाहसंस्कार गरिएको छ।

यस्तै, नवजात शिशुको अवस्था सामान्य रहेको परिवारले जनाएको छ।

तपाईको प्रतिक्रिया