कर्णालीबाट रास्वपाको ‘झोले युग’ अन्त्यको घोषणा : सभापति लामिछानेले गरे झोला त्यागेर ‘स्मार्ट फाइल’को सुरुवात

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कर्णाली प्रदेशबाट औपचारिक रूपमा प्रदेशस्तरीय पार्टी प्रशिक्षण कार्यक्रम सुरु गरेको छ।

कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै पार्टी सभापति रवि लामिछानेले नेपाली राजनीतिमा जरो गाडेको झोले संस्कृति अन्त्य गर्ने घोषणा गर्दै आजैबाट पार्टीका कार्यक्रमहरूमा झोला त्यागेर स्मार्ट फाइल प्रयोग गर्ने अभियानको थालनी गरेका छन्।

 

​‘झोलाबाट फाइलमा प्रवेश, प्रायोजक अस्वीकार’
सम्बोधनका क्रममा सभापति लामिछानेले राजनीतिक दलका कार्यकर्तालाई झोले भन्दै होच्याउने प्रवृत्तिमाथि प्रहार गर्दै अब रास्वपाले अधिवेशन तथा प्रशिक्षणहरूमा झोला नबाँड्ने बताउनुभयो।

उनले जनताका मुद्दा र गुनासाहरू टिपोट गर्न झोलाको सट्टा स्मार्ट डायरी/फाइल प्रयोगमा ल्याइएको जानकारी दिए।
​
पार्टीलाई एनजीओ, आईएनजीओ वा बाह्य प्रायोजक (स्पोन्सर) को प्रभावबाट मुक्त राख्न फाइल खरिदमा कुनै प्रायोजन नलिइएको स्पष्ट पार्दै उनले हुनेले किन्ने, नहुनेलाई हुने साथीले किनिदिने अभियान सुरु गर्न निर्देशन दिए ।

सोही क्रममा लामिछानेले आर्थिक अवस्था कमजोर भएका कम्तीमा १० जना सहभागीका लागि आफ्नै तर्फबाट फाइल खरिद गरिदिने घोषणा गर्दै कोषाध्यक्षलाई रकम हस्तान्तरण गरेका थिए।
​

भोट नदिए पनि कर्णालीको विकास रोकिँदैन
कर्णालीमा रास्वपाको चुनावी नतिजा र प्रतिनिधित्व अन्य प्रदेशको तुलनामा कमजोर रहेको स्वीकार गर्दै लामिछानेले विकासमा कुनै सौदाबाजी नहुने प्रतिबद्धता जनाए।

उनले भने, “कर्णालीले एक भोट पनि नदिओस् वा एकजना पनि प्रतिनिधि नपठाओस्, रास्वपा सरकारमा रहुन्जेल कर्णाली सधैं प्राथमिकतामा रहनेछ। हामी भोटसँग विकास साट्ने सौदाबाजी गर्न आएका होइनौं, चोखो मनले यहाँका मुद्दा सम्बोधन गर्न आएका हौं।”

विगतका सशस्त्र विद्रोहले कर्णालीलाई दिएको पीडा स्मरण गर्दै उनले रास्वपाले रगत नबगाई ‘निलो क्रान्ति’ मार्फत शान्त विद्रोह गरिरहेको उल्लेख गरे।

​कार्यकर्ताको घेरा तोडेर एक्लै बस्ती जाने
नेताहरू सधैं कार्यकर्ताको घेरामा बस्ने र फोटो खिचाएर टिकटको दाबी गर्ने परिपाटीको आलोचना गर्दै सभापति लामिछानेले आज दिउँसो आफू कुनै पनि नेता वा कार्यकर्ता नलिई एक्लै दैलेख आसपासका बस्तीमा गएर सोझै नागरिकसँग संवाद गर्ने बताए।

“मलाई भिड र फोटोको लोभ छैन, म नेताहरूबाट होइन, सोझै जनताबाट घेरिन चाहन्छु,” उनले भने ।

​प्रशिक्षणमा कडा अनुशासन : मोबाइल फोन बन्द
प्रशिक्षणको मुख्य आधार नै अनुशासन भएको बताउँदै सभापति लामिछानेले हलभित्र प्रवेश गरेपछि मोबाइल फोन पूर्ण रूपमा बन्द (स्विच अफ) गर्न निर्देशन दिए।

पार्टीको गोपनीयता र सिकाइको गाम्भीर्यतालाई ध्यानमा राख्दै रास्वपाका अबका बैठक तथा प्रशिक्षणमा आयोजकले अनुमति दिएबाहेक फोन प्रयोग गर्न नपाइने नियम लागू गरिएको उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया