आफ्नै माटोमा ‘अनागरिक’ आरती : न ओत लाग्ने छानो छ, न छोरीहरूको जन्मदर्ता

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका–५, बैजनाथ टोलमा बस्छिन्, ४० वर्षीया आरती लुहार । बैजनाथमा उनलाई जन्मदिने बुवा र आमाको घर छ । तर आरतीका लागि ओत लाग्ने सानो झुपडी त परै जाओस्, एक धुर जमिनसमेत छैन् ।

आरतीसँगै दुई कलिला छोरीहरू यतिबेला जीवन र भविष्यको दोसाँधमा संघर्ष गरिरहेका छन् । आफ्नै देशको माटोमा जन्मिएर पनि कागजी पहिचान र सुरक्षित बासको अभावमा एकातिर आमा मानसिक स्वास्थ्य समस्यासँग जुधिरहेकी छिन् भने अर्कोतिर १० वर्षीया लक्ष्मी र ८ वर्षीया काँजलको पढ्ने र अगाडि बढ्ने रहर जन्मदर्ताको कागज नहुँदा अधुरै छ ।


आरतीको यो संघर्षपूर्ण यात्रा आजको होइन् । चरम गरिबी र अभावले थिचिएपछि वि.सं. २०६३ तिर उनी दुई छाक टार्ने र परिवारको जीवनस्तर उकास्ने सपना बोकेर रोजगारीका लागि भारतको हरियाणा पुगेकी थिइन् ।

तर, परदेशको बसाइ उनका लागि सहज भएन् । वैदेशिक रोजगारीका क्रममा भोगेका विभिन्न पारिवारिक र सामाजिक विषम परिस्थिति तथा आर्थिक समस्याले सहन नसकेपछि आरतीको मानसिक सन्तुलनमा गम्भीर असर प¥यो ।

परदेशको त्यो कठिन यात्रापछि उनी रित्तो हात, विक्षिप्त मन र काखमा सन्तान लिएर आफ्नै जन्मभूमि फर्किइन् । आरतीका कुल ५ छोरीहरूमध्ये तीन जना ठूला छोरीहरूको विवाह भई आ–आफ्नै घरजममा छन् । तर आर्थिककै कारण उनीहरुको विवाह भारततिरै गरेको तर हाल उनीहरु कहाँ, कस्तो अवस्थामा छन् भन्ने कुनै पत्तो छैन् ।

अहिले आरतीको काँधमा १० वर्षीया लक्ष्मी र ८ वर्षीया काँजलको लालनपालनको जिम्मेवारी छ । तर, न आरतीसँग ओत लाग्ने सानो छानो छ, न त एक टुक्रा जमिन नै ।

गाउँका मनकारी छिमेकीहरूले मानवीय नाताले दिएको एक छाक खाना र लत्ताकपडाको भरमा यी आमाछोरीको दैनिकी चलिरहेको ईश्वरीदेवि बोहरा बताउछिन् । वर्षाको झरी होस् या हिउँदको कठ्याङ्ग्रिँदो चिसो, अरूकै आश्रय र खुला आकाशमुनि उनीहरूले रात कटाउनु परेको छ ।

१० वर्षकी लक्ष्मी र ८ वर्षकी काँजलको आँखामा अरू बालबालिका जस्तै कापी–कलम समाएर विद्यालय जाने र ठूली मान्छे बन्ने सपना छ । तर, जन्मदर्ता नभएकै कारण उनीहरू विद्यालयको दैलोसम्म पुगेर पनि औपचारिक शिक्षाको उज्यालोबाट वञ्चित हुनुपरेको छ ।

आमाको मानसिक स्वास्थ्य कमजोर हुनु र आवश्यक कागजपत्र जुटाइदिने अभिभावक नहुँदा यी बालिकाहरू आफ्नै देशमा कानुनी पहिचानविहीन बन्न पुगेको लालझाडी गाउँपालिका–५ का वडाध्यक्ष पहलबहादुर थापाले जानकारी दिए ।

पछिल्लो समय वडाध्यक्षले मानवीय संवेदना देखाउँदै आरतीको जन्मदर्ता बनाइदिएर कानुनी पहिचानको पहिलो ढोका खोलिदिएका छन् । तर, आरतीको नेपाली नागरिकता अझै बन्न सकेको छैन् ।

लक्ष्मी र काँजलको जन्मदर्ता बनाउने प्रक्रिया पनि आवश्यक कागजात र प्रक्रियागत जटिलताका कारण पूरा हुन सकेको छैन् । वडाध्यक्ष थापाले बालिकाहरूको जन्मदर्ता बनाउन निरन्तर पहल गरिरहेको बताए ।

‘आरतीका बुवा पहाडतिर गएका छन्, फर्किपछि उनको नागरिकता र छोरीहरुको जन्मदर्ता बनाउने पहल गरिरहेको छु,’ वडाध्यक्ष थापा भन्छन्, ‘लामो पर्व विदा सकिएलगत्तै बालिकाहरुको भविष्यका लागि पनि जन्मदर्ता बनाउन लागिरहेको छु ।’

आरतीलाई नियमित स्वास्थ्य उपचार र सुरक्षित आश्रयको खाँचो छ भने लक्ष्मी र काँजललाई नागरिक पहिचानसहित विद्यालय जाने वातावरणको आवश्यकता देखिएको छिमेकी बताउन् ।

तपाईको प्रतिक्रिया