दशाैं राष्ट्रिय खेलकुद महाकुम्भको सँघारमा निदाएको वीरेन्द्रनगर

न रङ्गिए पोल, न ठडिए स्वागतद्वार ः निभेका बत्ती, धुलो र खाल्डाखुल्डीले पाहुना गिज्याउँदै

सुर्खेत । नेपाली खेलकुदको सबैभन्दा ठुलो उत्सव दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको दिनगन्ती सुरु भइसकेको छ । लामो प्रतीक्षा, अन्योल र रस्साकस्सीपछि आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा राष्ट्रिय खेलकुदको महायज्ञ लाग्दैछ । औपचारिक उद्घाटन मंसिर १६ गते हुने तय भएपनि विभिन्न खेलका प्रतिस्पर्धाहरू भने आउँदो ८ गतेदेखि नै सुरु हुँदैछन् ।

तर, विडम्बना के छ भने, देशभरका हजारौँ खेलाडी, प्रशिक्षक, निर्णायक र खेलप्रेमी पाहुनालाई स्वागत गर्न दुलहीझैँ सिङ्गारिनुपर्ने आतिथ्य सहर वीरेन्द्रनगर यतिबेला मस्त निद्रामा जस्तै छ । खेल सुरु हुन चार दिन मात्र बाँकी रहँदासम्म सहरमा न त उत्सवको रौनक देखिन्छ, न त कुनै उत्साह नै छ ।

कतै स्वागतद्वार (गेट) ठडिएका छैनन्, कतै बिजुलीका पोल रङरोगन गरिएका छैनन् । उल्टै मुख्य राजमार्गका सडक बत्तीहरू निभेका छन्, धुलो उड्ने खाल्डाखुल्डी उस्तै छन्, फोहोरको र अव्यवस्थित ट्राफिकले आतिथ्य सहरको लापरबाही छर्लङ्ग पारिरहेको छ ।


राष्ट्रिय खेलकुद परिषद् (राखेप) मूल आयोजक र कर्णाली प्रदेश खेलकुद विकास परिषद् सह–आयोजक भए पनि प्रतियोगिताको आतिथ्यता र सहरको सौन्दर्यीकरणको प्रत्यक्ष दायित्व आतिथ्य सहर वीरेन्द्रनगर नगरपालिकाको काँधमा छ ।

कर्णालीले इतिहासकै पहिलो पटक पाएको यो स्वर्णिम अवसरमा देशभरबाट आउने पाहुनाका सामु प्रदेशको राजधानी कस्तो छ र यहाँको आतिथ्य सत्कार कस्तो छ भनेर देखाउने यो सुनौलो मौका हो ।

तर, राजधानीको मुख्य प्रवेशद्वार सुब्बाकुनादेखि बाङ्गेसिमलसम्मको चारलेन सडकको अवस्था हेर्ने हो भने निराशा मात्र हात लाग्छ । सडकमा जडान गरिएका सोलार तथा अन्य बत्तीहरू लामो समयदेखि एकतर्फी फर्किएका छन्, कैयौँ बत्तीहरू महिनौँदेखि निभेका छन् ।

रेडियो नेपालको टावर क्षेत्रको बत्ती बिग्रेको एक महिना बितिसक्दा पनि मर्मत गर्ने जाँगर कसैले देखाएको छैन् । मुख्य चोकहरूमा जडान गरिएका हाइमास्ट लाइटहरू शोभाका लागि मात्र ठडिएका छन् ।

यति मात्र होइन, खेल स्थल र बजार क्षेत्र जोड्ने भित्री सडकहरूको अवस्था झनै दयनीय छ । हटिया चोकदेखि कुइनेपानी जोड्ने सडक, सिमलचोकदेखि पूर्वतर्फका बाटाहरू, कर कार्यालयदेखि उत्तरतर्फ कालिन्चोक जाने सडकहरू खाल्डाखुल्डी छन् ।

खेल सुरु हुने बेलासम्म सहरको पूर्वाधार र सरसफाइमा देखिएको सुस्तताप्रति नागरिक अगुवा तथा विश्लेषकहरूले चिन्ता व्यक्त गरेका छन् । विश्लेषक पिताम्बर ढकाल भन्छन्, ‘यदि हामीले वास्ता गरेनौँ, नगर फोहोर नै रह्यो र सडकमा खाल्डाखुल्डी यथावत् रहे भने बाहिर राम्रो सन्देश जाँदैन । बाहिरबाट सुनेर आएका मान्छेले यहाँ आउँदा केही नदेखेपछि वीरेन्द्रनगरको जुन साख हुनुपर्ने हो, त्यो रहन सक्दैन ।’

ढकालका अनुसार उपमहानगरपालिका उन्मुख कर्णालीको एक मात्र मुख्य नगर भएकाले वीरेन्द्रनगरले यतिबेला पोखरा र काठमाडौँले जस्तै सफा र सुन्दर सहरको उदाहरण पेस गर्नुपथ्र्यो ।

‘अहिले यहाँ कुम्भमेला जस्तै ठुलो खेल महोत्सव हुँदैछ, जहाँ खेलाडी र दर्शकहरूको ठुलो घुइँचो लाग्छ । त्यसैले यसमा नगरपालिकाले हेलचेक्र्याइँ गर्नु हुँदैन,’ ढकाल थप्छन्, ‘चाहने हो भने खाल्डाखुल्डी पुर्ने जस्ता काम एकै दिनमा पनि गर्न सकिन्छ, गाह्रो कुरा होइन । तर, अहिलेको तयारी व्यापक भयो भनेर ठान्नु हुँदैन् ।’

एकातिर सहरको पूर्वाधार जीर्ण छ भने अर्कोतिर पाहुनाको मुख्य आतिथ्य सत्कार (होटेल, यातायात, बजार) सम्हाल्ने निजी क्षेत्रलाई तिनै तहका सरकारले पूर्ण रूपमा बेवास्ता गरेका छन् ।

दशौँ राष्ट्रिय खेलकुदको तयारीमा सरकार र निजी क्षेत्रबिचको समन्वय शून्य देखिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष धनबहादुर रावतले प्रदेश सरकार र स्थानीय सरकारको तयारीप्रति असन्तुष्टि जनाएका छन् ।

अध्यक्ष रावत भन्छन्, ‘समग्रमा मैले खेलकुदको तयारी खासै राम्रो देखेको छैन । प्रचारप्रसार, स्वागतद्वार तथा ब्यानर निर्माण, धुलो उड्ने बाटोघाटोको व्यवस्थापन, होटेल व्यवस्थापन र तयारी समितिहरू गठन गर्ने जस्ता कामहरू वीरेन्द्रनगरमा देखिएको छैन् ।’

सरकारले निजी क्षेत्रलाई बैठकमा बोलाउने वा भूमिका स्पष्ट पार्ने कुनै चासो नदेखाएको रावतको गुनासो छ । ‘संघ, प्रदेश र स्थानीय सरकारले हेर्ने दृष्टिकोण जे–जस्तो भए पनि निजी क्षेत्र अलि माथि उठेर लाग्नुपर्छ र आफ्नै कर्णालीमा महाकुम्भ मेला जस्तै यो ठुलो खेल महोत्सव हुन लागेकाले यसलाई सफल बनाउन निजी क्षेत्रको पूर्ण योगदान रहनेछ,’ रावतले भने ।

वीरेन्द्रनगर नगरपालिकाले भने कानुनी प्रक्रिया र समयको पाबन्दीका कारण काम देखिन केही ढिलाइ भए पनि भित्रभित्रै तयारी तीव्र पारिएको दाबी गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिमप्रसाद भट्टराईका अनुसार नगर कार्यपालिकाको बैठकले चासो लिँदै उपमेयरको संयोजकत्वमा विशेष समिति गठन गरी काम अघि बढाएको छ ।

प्रशासकीय अधिकृत भट्टराई भन्छन्, ‘विधि, प्रक्रिया र कानुनसम्मत ढङ्गले काम गर्नुपर्ने समयको पाबन्दीलाई हेर्दा हामीले सोचेजति सबै काम तत्काल गर्न नसके पनि केही कामहरू अगाडि बढेका छन् । बृहत् रूपमा विश्लेषण गरेर तत्काल गर्न सकिने कामहरू अगाडि बढाएकाले केही दिनपछि मैदानमा प्रत्यक्ष सुधार देखिनेछ ।’

उनका अनुसार खेल स्थल नजिकका वडा नं. ६, ७ र ८ का वडाध्यक्षहरूलाई समितिमै राखेर बिग्रिएका सडक बत्ती मर्मत गर्ने, विभिन्न स्थानमा डस्टबिन थप्ने, धार्मिक तथा पर्यटकीय स्थलको सौन्दर्यीकरण गर्ने र स्वागतद्वार निर्माण गर्ने काम सुरु भइसकेको छ ।

नेपाली खेलकुदको यो महाकुम्भमा कुल ३२ खेलका ३ सय ८४ इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ । जसमा ३ सय ८४ स्वर्ण, ३ सय ८४ रजत र ५ सय ६९ कांस्य गरी कुल १ हजार ३ सय ३७ पदकका लागि खेलाडीहरूले आफ्नो कौशल प्रदर्शन गर्नेछन् ।

प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली (नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल—एपीएफ) र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी कुल ११ टोलीको सहभागिता रहनेछ ।

भव्य उद्घाटन तथा समापन समारोह वीरेन्द्रनगरस्थित नवनिर्मित कर्णाली प्रदेश रङ्गशालामा आयोजना गरिनेछ । खेलहरूलाई विकेन्द्रित गर्ने नीति अनुसार सुर्खेतसहित सात जिल्लामा खेल सञ्चालन गरिनेछ । जसअनुसार मुख्य आयोजकस्थल सुर्खेतमा सर्वाधिक २३ खेल हुनेछन् भने नेपालगन्ज, बर्दिया र सल्यानमा दुई–दुई तथा दैलेख, कालीकोट र पश्चिम रुकुममा एक–एक खेल सञ्चालन हुने तय भएको छ ।

‘केही दिनभित्रै मैदानमा प्रत्यक्ष सुधार देखिनेछ’

दशौँ राष्ट्रिय खेलकुदको आयोजक समितिबाट जानकारी प्राप्त भएपछि नगर कार्यपालिकाको बैठकले विशेष चासो लिँदै उपमेयरज्यूको संयोजकत्वमा समिति गठन गरेको छ । समितिको बैठक बसेर खेलकुद लक्षित कार्यक्रम तय भइसकेको छ । तत्काल ठुलो खर्च गरेर खरिद प्रक्रिया पूरा गर्नुपर्ने समयलाई ख्याल गर्दै छिटो गर्न सकिने कामहरू अस्तिदेखि नै अगाडि बढाइएको छ ।

भिमप्रसाद भट्टराई, प्रमुख प्रशासकीय अधिकृत, वीरेन्द्रनगर नगरपालिका, सुर्खेत

मुख्य रूपमा यतिबेला भिडभाड बढी हुने हुँदा फोहोरमैला व्यवस्थापन तथा सरसफाइलाई प्राथमिकतामा राखेका छौँ । विभिन्न स्थानमा डस्टबिन थप्ने र वडाको संयोजकत्वमा सरसफाइ अभियान चलाइएको छ ।

पाहुनाहरू धार्मिक तथा पर्यटकीय स्थल घुम्न जाने भएकाले ती क्षेत्रको रङ्गरोगन, सौन्दर्यीकरण र स्वागतद्वार निर्माणका काम बजेटभित्रै रहेर सुरु गरेका छौँ । खेल स्थल नजिकका वडा नं. ६, ७ र ८ का वडाध्यक्षज्यूहरू समितिमै रहेर बिग्रिएका सडक बत्ती मर्मत गर्ने काम अघि बढाइएको छ ।

विधि, प्रक्रिया र कानुनसम्मत ढङ्गले काम गर्नुपर्दा केही समय लागे पनि बृहत् विश्लेषण गरेर काम थालिएकाले केही दिनपछि प्रत्यक्ष सुधार देखिनेछ ।

‘सरकारले नसम्झे पनि निजी क्षेत्रको पूर्ण योगदान रहन्छ’

वीरेन्द्रनगर नगरपालिकाले आफ्नो क्षेत्रगत हिसाबले काम गरिरहेको होला, तर प्रदेश सरकारको तयारी खासै देखिएको छैन् । यसमा निजी क्षेत्रको सहभागिता पनि कतै देखिएको छैन् । महासंघलाई बैठकमा बोलाउने वा कसरी अगाडि बढ्ने भन्नेमा सरकारका तर्फबाट कुनै चासो देखाइएको छैन् ।

धनबहादुर रावत, अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश

सामाजिक विकास मन्त्रीज्यूले अस्ति अनौपचारिक बैठक बोलाउनुभएको थियो, तर त्यसमा निजी क्षेत्रको भूमिका के हो भन्ने ठोस कुरा भएन । समग्रमा मैले खेलकुदको तयारी खासै राम्रो देखेको छैन् ।

प्रचारप्रसार, स्वागतद्वार तथा ब्यानर निर्माण, धुलो उड्ने बाटोघाटोको व्यवस्थापन, होटेल व्यवस्थापन र तयारी समितिहरू गठन गर्ने जस्ता कामहरू वीरेन्द्रनगरमा देखिएको छैन् ।

सरकारले आह्वान नगरे पनि म रुकुमबाट फर्किएलगत्तै दुई–चार दिनभित्रै बैठक बोलाउँछु । संघ, प्रदेश र स्थानीय सरकारले हेर्ने दृष्टिकोण जे–जस्तो भए पनि निजी क्षेत्र अलि माथि उठेर लाग्नुपर्छ । आफ्नै कर्णालीमा महाकुम्भ मेला जस्तै यो ठुलो खेल महोत्सव हुन लागेकाले यसलाई सफल बनाउन निजी क्षेत्रको पूर्ण योगदान रहनेछ ।

‘तयारीमा चुक्यौँ भने वीरेन्द्रनगरको साख जोगिँदैन’

सहरका सडकहरू खाल्डाखुल्डी भइसकेका छन्, ती तत्काल मर्मत गर्नुपर्ने हो । हटिया चोकदेखि कुइनेपानी आउने, सिमलचोक पूर्वका बाटाहरू र कर कार्यालयदेखि कालिन्चोक जाने बाटो खाल्डाखुल्डी नै छ ।

पिताम्बर ढकाल, विश्लेषक

खेल स्थल नजिकका यस्ता बाटाहरूको खाल्डाखुल्डी पुरपार गरेर चिटिक्क पार्नुपर्ने हो नि ! यो सहरको इज्जतको विषय हो । वीरेन्द्रनगरको सुन्दरता भनेकै यही सफा र चिटिक्क सडक हो । त्यसका लागि नगरपालिकाले मात्र होइन, नागरिकहरूले पनि आफ्नो घरअगाडि सरसफाइ गरेर मिहिनेत गर्नुपर्छ ।

पोखरा र काठमाडौँ जस्तै उदाहरणीय वीरेन्द्रनगरलाई पनि बनाउनुपर्छ, किनभने यो उपमहानगरपालिका उन्मुख कर्णालीको एक मात्र मुख्य नगर हो । कुम्भमेला जस्तै ठुलो खेल महोत्सवमा नगरपालिकाले हेलचेक्र्याइँ गर्नु हुँदैन् ।

यदि वास्ता गरेनौँ, नगर फोहोर नै रह्यो र खाल्डाखुल्डी यथावत् रहे भने बाहिर राम्रो सन्देश जाँदैन र वीरेन्द्रनगरको साख रहन सक्दैन । चाहने हो भने खाल्डाखुल्डी पुर्ने जस्ता काम एकै दिनमा पनि गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया