जाजरकोटका ऐतिहासिक दरबार पुनर्निर्माण गर्न ४८ करोड बजेट स्वीकृत

जाजरकोट । २०८० कात्तिक १७ गतेको भूकम्पबाट क्षतिग्रस्त बनेका जाजरकोटका ऐतिहासिक रातो दरबार, सेतो दरबार र जिल्ला अदालतको भवन पुनर्निर्माण गर्न लागिएकाे छ । लामो समयदेखि जीर्ण अवस्थामा रहेका यी संरचनाको पुनर्निर्माणका लागि ४८ करोड रुपैयाँ बजेट स्वीकृत भएसँगै निर्माण कार्य अघि बढ्ने सुनिश्चित भएको हो ।

स्वीकृत बजेटमध्ये सेतो दरबारका लागि २० करोड, रातो दरबारका लागि आठ करोड र जिल्ला अदालत भवन पुनर्निर्माणका लागि २० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

पुनर्निर्माणका लागि आवश्यक सबै प्रशासनिक स्वीकृति प्राप्त भइसकेकाले छठ पर्वलगत्तै ठेक्का प्रक्रिया अघि बढाइनेछ । योजनाअनुसार आगामी २०८३ सालको वसन्त पञ्चमीदेखि भौतिक निर्माणको काम सुरु गर्ने लक्ष्य राखिएको छ ।

जाजरकोटको खलंगामा अवस्थित रातो र सेतो दरबार बाइसे राज्यकालीन इतिहाससँग जोडिएका महत्त्वपूर्ण पुरातात्त्विक सम्पदा हुन् । तत्कालीन जाजरकोट राज्यको शासन सञ्चालनको केन्द्र रहेका यी दरबारमध्ये सेतो दरबार राजा इन्द्रनारायण शाहको पालामा वि.सं. १८५२ मा निर्माण भएको ऐतिहासिक अभिलेख छ ।

रातो दरबारको निर्माणकालबारे भने ऐतिहासिक स्रोतहरूमा फरक–फरक विवरण पाइन्छ । राजतन्त्रको अन्त्यपछि यी दरबारहरूमा लामो समयसम्म सरकारी कार्यालय सञ्चालन हुँदै आएका थिए ।

यसअघि वि.सं. १९९० को महाभूकम्पमा क्षति पुगेपछि भक्तपुरका नेवार कालीगढहरूको सहयोगमा सेतो दरबारको पुनर्निर्माण गरिएको थियो । त्यसैगरी वि.सं. २०४५ को भूकम्पले क्षति पुर्‍याएपछि २०५१ सालमा यसको पुनः मर्मत तथा पुनर्निर्माण भएको थियो ।

पछिल्लो पटक २०८० को भूकम्पले दुवै दरबारलाई जोखिमपूर्ण बनाएको थियो भने समयमै मर्मत नहुँदा गत भदौमा सेतो दरबारको एक भागसमेत भत्किएको थियो ।

सरकारले देशका एक सय पर्यटकीय गन्तव्यको सूचीमा समेत समावेश गरेको सेतो दरबार र रातो दरबारको पुनर्निर्माण गर्दा तिनको मौलिक स्वरूप, परम्परागत वास्तुकला र सांस्कृतिक पहिचानलाई यथावत् राखिने जनाइएको छ । ऐतिहासिक सम्पदाको संरक्षणसँगै यसले जाजरकोटको पर्यटन प्रवर्द्धनमा समेत महत्त्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ ।

विगतमा पटक–पटक बजेट विनियोजन भए पनि स्रोत सुनिश्चितता नहुँदा रोकिएको पुनर्निर्माणको काम जिल्लास्थित कार्यालय, महानिर्देशकको कार्यालय, संसद् र सम्बन्धित मन्त्रालयसम्म निरन्तर पहल तथा ताकेता गरेपछि बजेट स्वीकृत भई अघि बढ्न लागेको प्रतिनिधिसभा सदस्य खडकबहादुर बुढाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया