पश्चिम सुर्खेतका खहरे खोलामा पक्की पुल निर्माण गरिँदै

सुर्खेत । सडक निर्माणसँगै यस क्षेत्रको सबैभन्दा ठूलो चुनौतीका रूपमा रहेका खहरे खोलाहरूमा पक्की पुल निर्माणको कामले पनि गति लिएको छ । मदन भण्डारी राजमार्गको सुर्खेत पूर्वको भेडाबारीदेखि कर्णाली नदीसम्म कुल २३ वटा पक्की पुल निर्माण गर्नुपर्ने गुरुयोजना छ ।

यीमध्ये १३ वटा पुल सुर्खेत पूर्व र १० वटा पुल सुर्खेत पश्चिम खण्डमा पर्दछन् । हालसम्म १६ वटा पक्की पुल निर्माण सम्पन्न भएर सवारीसाधन निर्वाध सञ्चालन भइसकेका छन् ।

सुर्खेत पूर्वी खण्डमा पर्ने १३ वटै पक्की पुल ४० करोड ४५ लाख रुपैयाँ लागतमा निर्माण गरिएका हुन् । जसमा भुगुती, काली, खत्री, गुर्जी, बेतनी, खहरे, राते, बेवारे, कागते, थोत्री, गंगटे र रानीमत्ते खोलामा नयाँ पुल निर्माण गरिएको छ ।

पश्चिम सुर्खेत खण्डमा पनि यसअघि नै तीन वटा खोलामा पुल निर्माण सम्पन्न भइसकेको छ । विद्यापुर खोलाको पुल तीन करोड ४६ लाख, गुटु खोलाको पुल पाँच करोड र ब्यूरेनी खोलाको पुल तीन करोड ६० लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएर सञ्चालनमा आइसकेका छन् ।

कार्यालयले चालु आर्थिक वर्षदेखि पञ्चपुरी नगरपालिकाको स्याउलीघाट, चत्तुरे, बराइचे, सलामडुबे खोला तथा चौकुने गाउँपालिकाको सिमलखेत र लेमु खोलामा पुल बनाउनुपर्ने स्थानीयको लामो समयदेखिको माग अब पूरा देखिएको छ ।

कुल ३८ करोड १२ लाख १० हजार ४९९ रुपैयाँ लागतमा निर्माण हुने यी पाँच वटा पुलको ठेक्का सम्झौता अन्तिम चरणमा पुगेको हो । चत्तुरे खोलामा २५ मिटर लामो पक्की पुल निर्माणका लागि मेसर्स डी. लालीगुराँस कालीकोट जेभी ६ करोड ३५ लाख १० हजार ९५८ रुपैयाँमा छनोट भएको छ ।

यस्तै, लेमु खोलामा ५० मिटर लामो पुल निर्माणका लागि मेसर्स सिद्धि विनायक कन्स्ट्रक्सन, मकवानपुरसँग ८ करोड ६२ लाख ४१ हजार ७२६ रुपैयाँमा सम्झौता प्रक्रिया अघि बढेको छ ।

यस्तै, बराइचे खोलामा २० मिटर लामो पुल बनाउन मेसर्स इन्द्रधनु अछाम निर्माण सेवा, कैलाली ७ करोड ३७ लाख १२ हजार ७३६ रुपैयाँ र स्याउलीघाट खोलामा २५ मिटर लामो पुल निर्माणका लागि मेसर्स हिमशृङ्खला-अल्फा-काञ्जीरोवा जेभी, नेपालगञ्ज बाँकेले ७ करोड २६ लाख ८१ हजार ५६० रुपैयाँमा जिम्मा पाएको छ ।

सलामदुबे खोलामा २५ मिटर लामो पुल निर्माणका लागि मेसर्स इन्द्रधनु अछाम निर्माण सेवा, कैलाली ८ करोड ५० लाख ६३ हजार ५१७ रुपैयाँमा छनोट भएको छ । यसबाहेक चौकुने गाउँपालिकाको सिमलखेत खोला तथा सुदूरपश्चिमको डोटी र कर्णालीको सुर्खेत जोड्ने चौकुने गाउँपालिका–१ पाल्पाघाटस्थित कर्णाली नदीमा पक्की पुल निर्माणका लागि निर्णय हुन बाँकी छ ।

सडक विस्तार र कालोपत्रेसँगै मुख्य खोलाहरूमा पक्की पुल बनेपछि पश्चिम सुर्खेतको चौकुने गाउँपालिका र पञ्चपुरी नगरपालिका लगायतका बासिन्दालाई प्रदेश राजधानी वीरेन्द्रनगर तथा कर्णाली प्रदेशका अन्य जिल्लाहरूसँग बाह्रै महिना सुरक्षित र सहज यातायात सम्पर्क कायम हुनेछ ।

अब वर्षायाम सुरु हुनासाथ यातायात बन्द हुने त्रासमा बस्नुपर्ने अवस्थाको अन्त्य हुने भएको छ । सडक र पुलको यो पूर्वाधारले स्थानीय कृषि उपज, फलफूल तथा पशुजन्य उत्पादनलाई सहजै बजारसम्म पु¥याउन मद्दत गर्नेछ, जसले ग्रामीण अर्थतन्त्रमा परिवर्तन आउने विश्वास स्थानीयवासीले लिएका छन् ।

तपाईको प्रतिक्रिया