कालिकोटमा यात्रुवाहक गाडीमा आगलागी, १६ जना यात्रु सकुशल

कालिकोट  । सुर्खेतबाट जुम्लातर्फ जाँदै गरेको एक यात्रुवाहक फोर्स गाडीमा कालिकोट सदरमुकाम मान्मस्थित हस्पिटल चोक नजिकै अचानक आगलागी भएको छ। असोज २८ गते बिहान सुर्खेतबाट छुटेको भे १ ख ४०३४ नम्बरको गाडीमा आगलागी भएको हो।

गाडीमा चालकसहित १६ जना यात्रु सवार थिए। आगलागी सुरु हुनासाथ चालक तथा यात्रुहरू तत्काल बाहिर निस्कन सफल भएकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ। सबै यात्रुहरू सकुशल रहेका छन्।

मानवीय क्षति नभए पनि गाडी र त्यसमा रहेका यात्रुहरूका सम्पूर्ण लत्ताकपडा तथा मालसामान पूर्ण रूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।

गुडिरहेको अवस्थामा गाडीको विद्युतीय प्रणालीमा खराबी (सर्ट सर्किट) भई आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया