सुर्खेत । साथीहरूसँग घुम्न गएका वीरेन्द्रनगरका एक २५ वर्षीय युवा होटलको कोठामा रहस्यमय तरिकाले मृत फेला परेका छन्। वीरेन्द्रनगर नगरपालिका–९ का २५ वर्षीय विशाल रावल वीरेन्द्रनगर–१४, गोठीकाँडास्थित एक होटलमा मृत फेला परेका हुन्।
घटना शंकास्पद रहेको र सुनियोजित हत्या गरिएको भन्दै मृतकका आफन्तले निष्पक्ष छानबिन तथा दोषीमाथि कडा कारबाहीको माग राखेर जिल्ला प्रहरी कार्यालय सुर्खेतमा किटानी जाहेरी दर्ता गराएका छन्।
प्रहरीले घटनाको अनुसन्धानका लागि विशालसँगै होटलमा गएका वीरेन्द्रनगर–९ की संगीता शाही र लेकबेंसी नगरपालिका–१० का २६ वर्षीय मनोज शाहीलाई नियन्त्रणमा लिएको छ।

प्रहरीमा दर्ता भएको किटानी जाहेरीअनुसार, विशाल असोज २५ गते साँझ करिब ६:०० बजे घरबाट निस्किएका थिए। अबेरसम्म घर नफर्किएपछि सोही दिन राति करिब ९:३० बजे उनले घरमा फोन गरेर आज म साथीको घर बस्छु, आज आउँदिनँ, भोलि बिहानै आउँछु भनेर जानकारी गराएका थिए। तर भोलिपल्ट बिहान घरमा उनी होइन, उनको मृत्युको खबर परिवारलाइ पुगेकाे थियाे।
प्रहरीको प्रारम्भिक अनुसन्धान र जाहेरी दरखास्तअनुसार विशाल र संगीता शाही असोज २५ गते साँझ नै गोठीकाँडास्थित होटल पुगेका थिए। सोही रात करिब ११:३० बजे मनोज शाही पनि उक्त होटलमा पुगेका थिए। उनीहरूले होटलमा दुईवटा कोठा लिएका थिए। जसमा विशाल र संगीता कोठा नं. ३०१ मा र मनोज कोठा नं. ३०२ मा बसेका अनुसन्धानकाे क्रममा खुलेकाे प्रहरीले जनाएकाे छ ।
तर, असोज २६ गते बिहान करिब ४:०० बजे शौचालय जाँदा विशाल शौचालयभित्र रहेको पीभीसी पाइपमा खाटको तन्नाको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेको भन्दै संगीताले मनोज र होटल सञ्चालकलाई खबर गरेकी थिइन्। त्यसलगत्तै पासो फुकाएर एम्बुलेन्समार्फत कर्णाली प्रदेश अस्पताल पुर्याइए पनि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।
विशालका भाइ गणेश रावतले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा दिएको किटानी जाहेरीमा यो आत्महत्या नभई सुनियोजित हत्या भएको दाबी गरिएको छ। शौचालयको कमजोर पीभीसी पाइपमा खाटको तन्नाले झुण्डिएको भनिएको अवस्था स्वाभाविक नदेखिएको र घटनाको प्रकृति रहस्यमय रहेको आफन्तहरूको भनाइ छ।
जाहेरीमा संगीता शाही र मनोज शाहीको मिलेमतोमा योजनाबद्ध तरिकाले हत्या गरी आत्महत्याको रूप दिन खोजिएको आरोप लगाउँदै सत्यतथ्य छानबिन गरी दोषीमाथि हदैसम्मको कानुनी कारबाही र क्षतिपूर्तिको माग गरिएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान अघि बढाइएको जनाएको छ। नियन्त्रणमा लिइएका दुवै जनासँग सोधपुछ भइरहेको र विशालको शव कर्णाली प्रदेश अस्पतालको शवगृहमा राखिएको छ। शवको पोस्टमार्टम रिपोर्ट तथा प्राविधिक अनुसन्धानपछि मात्र घटनाको वास्तविक कारण खुल्ने प्रहरीले जनाएको छ।

सुशील खड्का । २८ आश्विन २०८३, बुधबार ०९:०७