वीरेन्द्रनगरमा बढ्यो चोरी आतङ्क : एकै रात दुई पसलबाट लाखौँको धनमाल गायब

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पछिल्लो समय चोरीका घटना बढ्न थालेका छन्। गएको असोज ८ गते राती मात्रै चोर समूहले मुख्य बजार क्षेत्रका दुईवटा छुट्टाछुट्टै पसलको सटर फोडेर नगदसहित लाखौँ मूल्य बराबरका धनमाल चोरी गरेको हाे।

 

घटनापछि स्थानीय व्यवसायीहरू त्रसित बनेका छन् भने मुख्य अभियुक्तहरू अझै पक्राउ परेका छैनन्। प्रहरीमा परेको उजुरी अनुसार वीरेन्द्रनगर–६ स्थित ‘होटल पञ्चपुरी’ को सटर फोडेर काउन्टरमा रहेको नगद १ लाख ४० हजार रुपैयाँ र एउटा ल्यापटप चोरी भएको छ।

त्यसैगरी, सोही रात वीरेन्द्रनगर–९ स्थित ब्लु स्काइ मोबाइल सेन्टरबाट ग्राहकहरूले मर्मतका लागि छाडेका ३० थान मोबाइल, ल्यापटप, ३ थान ब्लुटुथ स्पिकर र नगद २५ हजार रुपैयाँ चोरी भएको छ।

असोज ९ गते बिहान पसल खोल्न पुग्दा सटर फोडिएको अवस्थामा फेला परेपछि सञ्चालकहरू इन्द्र कठायत र अर्जुन बमले तत्काल जिल्ला प्रहरी कार्यालय सुर्खेतमा निवेदन दिएका थिए।

घटना भएको केही दिन बितिसक्दा पनि वास्तविक संलग्न व्यक्तिहरू पक्राउ नपर्दा व्यवसायीहरूले सुरक्षा व्यवस्थाप्रति चिन्ता व्यक्त गरेका छन्। यद्यपि प्रहरीले केही संकास्पद व्यक्तिहरूलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक (एसपी) ठाकुर प्रसाद पोखरेलले घटनालाई गम्भीरतापूर्वक लिएर अनुसन्धान अघि बढाइएको जानकारी दिएका छन्।

उनका अनुसार घटनास्थल आसपास क्षेत्रमा जडान गरिएका सीसीटीभी क्यामराका फुटेजहरूको प्राविधिक परीक्षण भइरहेको छ भने संकास्पद गतिविधि गर्ने व्यक्तिहरूलाई निगरानीमा राखिएको छ।

चाडपर्व नजिकिँदै गर्दा बजार क्षेत्रमा सुरक्षा गस्ती बढाउन र चोरीमा संलग्न गिरोहलाई यथाशीघ्र कानुनी दायरामा ल्याउन स्थानीय व्यापारीहरूले माग गरेका छन्।

तपाईको प्रतिक्रिया