सुर्खेत । कर्णालीका दुर्गम तथा ग्रामीण बस्तीहरूमा गरिबी, अभाव र चेतनाको कमीका कारण आज पनि धेरै कलिला मुनाहरू समयमै विद्यालयको ढोका देख्न पाउँदैनन् । कतिपयले अक्षर चिन्न नपाउँदै कापी, कलम बिसाएर घरायसी जिम्मेवारीमा बाँधिनुपर्ने समस्या अलि पनि यथावत नै छ ।
तर, यस्तै अभाव र अनिश्चित भविष्यको दोसाँधमा उभिएकी सुर्खेत गुर्भाकोट नगरपालिका–१४ की एक बालिकाको जीवनमा भने भरोसायोग्य नयाँ बिहानी सुरु भएको छ। गुर्भाकोट–१४ निवासी बालिका रोशनी दमाईको कक्षा १२ सम्मको सम्पूर्ण आवासीय पढाइ तथा लालनपालनको जिम्मेवारी सामाजिक संस्था लभ एण्ड होप नेपालले लिएको छ।
पारिवारिक विपन्नताका कारण अध्ययन अघि बढाउन कठिन अवस्था झेलिरहेकी रोशनीलाई संस्थाले आफ्नो संरक्षणमा लिएर सुरक्षित भविष्यतर्फ डोर्याउने भएको हो।
शिक्षासँगै गाँस, बास र स्वास्थ्यको पूर्ण प्रत्याभूति रोशनीलाई विद्यालयको औपचारिक शिक्षा मात्र नभई बस्ने, खाने, स्वास्थ्योपचार, लत्ताकपडा तथा अतिरिक्त क्रियाकलापसहित कक्षा १२ सम्मको सम्पूर्ण खर्च संस्थाले नै व्यहोर्ने गरी जिम्मा लिएको संस्था लभ एण्ड होप नेपाल संस्थाका सञ्चालक शम्भु पाेखरेलले जानकारी दिए ।
सानै उमेरमा घरायसी आर्थिक संकटका कारण पढाइबाट वञ्चित हुनुपर्ने जोखिम टरेपछि बालिका र उनका परिवारजनको खुसी व्यक्त गरेका छन् । अब रोशनीले कुनै आर्थिक अभावको चिन्ता नगरी ढुक्क भएर आफ्ना सपनाहरू पछ्याउन पाउनेछिन् ।
बालिकालाई संरक्षण गरिरहेकाे सञ्चालक पोखरेलका अनुसार गुर्भाकोट नगरपालिकाभित्रबाट मात्रै हालसम्म १० जनाभन्दा बढी असहाय तथा विपन्न बालिकाहरूको पूर्ण जिम्मेवारी संस्थाले लिइसकेको छ।

सञ्चालक पोखरेलले भने, ‘हाम्रो मुख्य उद्देश्य भनेकै आर्थिक अभाव वा पारिवारिक समस्याका कारण कुनै पनि बालिका शिक्षाको उज्यालो घामबाट वञ्चित हुन नपरोस् भन्ने हो। गुर्भाकोटमा मात्रै १० जनाभन्दा बढी नानीहरूलाई हामीले संस्थाको संरक्षणमा राखेर पठनपाठन गराइरहेका छौँ, र यो क्रम आगामी दिनमा पनि निरन्तर रहनेछ।”
काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका–६ मा अवस्थित लभ एण्ड होप नेपालले विगत १० वर्षदेखि निरन्तर रूपमा असहाय, जोखिममा परेका तथा सीमान्तकृत बालबालिकाहरूको संरक्षण गर्दै आइरहेको छ।
कुनै एउटा भूगोल वा पालिकामा मात्र सीमित नरही यस संस्थाले देशका विभिन्न दुर्गम क्षेत्रमा पुगेर जोखिममा परेका बालिकाहरूको पहिचान गर्दै आएको छ। विशेषगरी भौगोलिक विकटता, गरिबी र सामाजिक पछौटेपन झेल्दै आएका समुदायका बालिकाहरू संस्थाको प्राथमिकतामा पर्ने गरेका छन्।
हालसम्म संस्थाले दैलेख, जाजरकोट, सुर्खेत, कैलाली, बर्दिया, सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक जिल्लाका विपन्न परिवारको भरोसा बनेका छ । शिक्षा मानिसको आधारभूत माैलिक अधिकार भए पनि नेपालका ग्रामीण तथा सीमान्तकृत समुदायका बालबालिका अझै पनि यसबाट टाढा छन्।
छोरीहरूमाथि हुने विभेद, सानै उमेरमा विवाह गरिदिने सामाजिक कुरीति र आर्थिक विपन्नताका कारण बीचमै पढाइ छाड्ने दर उच्च छ। यस्तो संवेदनशील परिवेशमा विगत एक दशकदेखि लभ एण्ड होप नेपालले विपन्न परिवारको सारथी बनेर गरेको मानवीय पहलले समाज रूपान्तरणमा ठूलो टेवा पुर्याएको छ।
रोशनी दमाईजस्ता थुप्रै बालिकाहरूको हातमा कलम थमाएर उनीहरूको भविष्य सुरक्षित गर्ने यो प्रयासले समाजमा सकारात्मक ऊर्जा संस्थाले थपिदिएकाे छ ।

सुशील खड्का । १३ आश्विन २०८३, मंगलवार १७:३२