सुरक्षित र दिगो खानेपानीका लागि नलगाडमा पालिकास्तरीय गोष्ठी

जाजरकाेट । नलगाड नगरपालिकाभित्र सञ्चालित खानेपानी आयोजनाहरूलाई सुरक्षित, गुणस्तरीय र दिगो बनाउने उद्देश्यका साथ पालिकास्तरीय विस्तारित खानेपानी सुरक्षा योजना सम्बन्धी गोष्ठी सम्पन्न भएको छ।

नलगाड नगरपालिकाको आयोजना तथा सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजना (सुस्वा) को सहजीकरणमा पालिकास्तरमा यस्तो कार्यक्रम पहिलो पटक आयोजना गरिएको हो ।

गोष्ठीमा खानेपानीको मुहान (स्रोत) देखि उपभोक्ताको धारासम्म आइपुग्दा हुनसक्ने सम्भावित जोखिमको पहिचान, जोखिम न्यूनीकरण, गुणस्तर सुनिश्चितता तथा नियमित मर्मतसम्भारका विषयमा गहन छलफल भएको थियो ।

कार्यक्रमको सहजीकरण सुस्वा आयोजनाका सुशासन विज्ञ निराजन श्रेष्ठ, वास सल्लाहकार प्रमोदलाल श्रेष्ठ र वास अधिकृत वीरेन्द्र बटालाले गरेका थिए। सहजीकरणका क्रममा सुशासन विज्ञ निराजन श्रेष्ठले सुरक्षित खानेपानीको आवश्यकता र पानीको गुणस्तर कायम राख्न अपनाउनुपर्ने प्राविधिक तथा व्यवहारिक उपायहरूबारे जानकारी गराए।

त्यसैगरी वास सल्लाहकार प्रमोदलाल श्रेष्ठले खानेपानी आयोजनाको दीर्घकालीन सञ्चालनका लागि नियमित मर्मतसम्भार, संस्थागत व्यवस्थापन र समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको औंल्याए।

वास अधिकृत वीरेन्द्र बटालाले नगरपालिकाभित्रका खानेपानी योजनाहरूको वर्तमान अवस्था, सञ्चालनको नियमितता र प्रभावकारी व्यवस्थापनका लागि तत्काल गर्नुपर्ने सुधारका पक्षहरूबारे कार्यपत्र प्रस्तुत गरेका थिए।

कार्यक्रममा नगरपालिकाका सम्बन्धित शाखाका प्रतिनिधिहरू, खानेपानी उपभोक्ता समितिका पदाधिकारी, ग्रामीण मर्मतसम्भार कार्यकर्ता तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।

विस्तारित खानेपानी सुरक्षा योजना लागू भएपछि स्थानीय तह, आयोजना व्यवस्थापन समिति र उपभोक्ताबीच समन्वय मजबुत भई नागरिकले स्वच्छ र सुरक्षित खानेपानी निरन्तर पाउने विश्वास छ।

तपाईको प्रतिक्रिया