संकटमै पनि साना किसान अब्बल : ५१ करोड कारोबार, बाँड्यो बोनस

सुर्खेत । देशभरका कतिपय सहकारी संस्थाहरूमा आर्थिक संकट र सुशासनको अभाव देखिइरहेका बेला सुर्खेतको वीरेन्द्रनगर–३, उत्तरगंगास्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडले उत्कृष्ट वित्तीय सुशासन र स्थायित्वको सन्देश दिएको छ। संस्थाले आफ्नो ३० औँ वार्षिक साधारणसभा सम्पन्न गर्दै गत आर्थिक वर्षमा ५१ करोडभन्दा बढीको कारोबार गर्न सफल भएको तथ्यांक सार्वजनिक गरेको  हाे।

संस्थाका अध्यक्ष विन्द्रा थापाको अध्यक्षतामा मङ्गलबार सम्पन्न साधारणसभामा प्रस्तुत आर्थिक प्रतिवेदनले संस्थाको वित्तीय अवस्थालाई उजागर गरेको हो।

संस्थाका मुख्य प्रबन्धक चित्रप्रसाद रेग्मीले प्रस्तुत गरेको प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा संस्थाले ५१ करोड ५१ लाख ९ हजार ४ सय ७७ बराबरको कारोबार गरेको छ।

आर्थिक मन्दी र सहकारी क्षेत्रप्रतिको घट्दो जनविश्वासका विच यस सहकारीले नाफा आर्जन गर्दै आफ्ना शेयर सदस्यहरूलाई ६.५ प्रतिशत शेयर बोनस (लाभांश) वितरण गर्ने घोषणा गरेको छ।

यसलाई स्थानीय सरोकारवालाहरूले संस्थाको पारदर्शी कार्यशैली, प्रभावकारी ऋण असुली र कुशल व्यवस्थापनको परिणामका रूपमा विश्लेषण गरेका छन्।

अध्यक्ष थापाले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै भनिन्, “हामीले बचत र ऋणको परम्परागत कामलाई मात्र नभई सदस्यहरूको दिगो आर्थिक तथा सामाजिक विकासलाई केन्द्रमा राखेका छौँ। आगामी दिनमा किसानकेन्द्रित नवीन सेवाहरू र संस्थाको दिगो विकासमा हाम्रो सम्पूर्ण ध्यान केन्द्रित हुनेछ।”

कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका शाखा प्रबन्धक सविन लामिछानेले सहकारीको दिगोपनका लागि सदस्यहरू नै सचेत हुनुपर्ने धारणा राखे।

उनले सहकारी शिक्षा र वित्तीय साक्षरताको महत्वमाथि प्रकाश पार्दै भने, “सदस्यहरूले संस्थाबाट लिएको सेवा र सुविधाको सही सदुपयोग गर्नुका साथै वित्तीय अनुशासन कायम राख्न सके मात्र समग्र सहकारी अभियान सफल हुन्छ।”

साधारणसभाले संस्थाको वृद्धि र विकासमा उत्कृष्ट योगदान पुर्‍याउने शेयर सदस्यहरूलाई सम्मान तथा पुरस्कृत गरेको छ। तल्लो तहसम्म बचत गर्ने बानीको विकास गर्न उत्कृष्ट बचत गर्ने एक समूहलाई गोला प्रथामार्फत छनोट गरी विशेष पुरस्कारसमेत प्रदान गरिएको थियो। यसले सदस्यहरूमा संस्थाप्रतिको अपनत्व र बचत गर्ने उत्प्रेरणा थपेको छ।

सभाले आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तावित वार्षिक योजना तथा कार्यक्रमहरूसमेत सर्वसम्मत रूपमा पारित गरेको छ। नयाँ कार्ययोजनामा संस्थाको सेवा विस्तार, कृषि उत्पादनमा आधारित कर्जाको प्राथमिकीकरण, सदस्यको व्यावसायिक क्षमता अभिवृद्धि र संस्थागत सुदृढीकरणलाई मुख्य प्राथमिकतामा राखिएको छ।

संस्थाका संस्थापक अध्यक्ष गौरादेवी गिरीलगायत सञ्चालक समिति, शेयर सदस्य र स्थानीय सरोकारवालाहरूको उपस्थिति रहेको ३० औँ साधारणसभाले साना किसानहरूको आयआर्जन बढाउन र समग्र कर्णालीकै कृषि अर्थतन्त्रलाई चलायमान बनाउन संस्था थप जिम्मेवार भएर अघि बढ्ने निष्कर्ष निकालेको छ।

तपाईको प्रतिक्रिया