बाढीले भेरी करिडोर अबरुद्धः घर टहरा बगायो

सुर्खेत । अविरल वर्षापछि आएको बाढीले जाजरकोट सडकखण्डको भेरी करिडोर अबरुद्ध भएको छ । जाजरकोटको नलगाड नगरपालिका–१ र २ को सीमामा पर्ने बौलाह खोलामा आएको बाढीले भेरी करिडोर अबरुद्ध हुनुका साथै घर टहरा बगाएको हो ।

बाढीका कारणले भेरी करिडोरको जाजरकोट–डोल्पा सडकखण्ड पूर्ण रुपमा अवरुद्ध छ ।

बाढीले नलगाड–१ बैरीतालका मानबहादुर विकको अस्थायी टहरा, बविता महराको अस्थायी टहरा र किराना पसल, कृष्ण महराको एक कोठे अस्थायी टहरा, मेघराज कुमाईले बोइलर कुखुराको दाना राख्दै आएको अस्थायी टहरा, नन्दे महरको कपडा पेल्ने मेसिनसहितको अस्थायी टहरा पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

बाढीले छवि महराको भे १ ह २६३३ नम्बरको अटो हिलोपानीमा पुरिएर क्षति भएको छ भने हिरालाल घर्तीको ग १ त ७२७८ नम्बरको ट्याक्टरसमेत माटोले पुरिएर आंशिक क्षति भएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनास्थलको अवस्था, क्षतिको थप विवरण तथा सडक खुलाउने प्रयासबारे समन्वय गरिरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख बुद्धिसागर पुरीले बताए ।

तपाईको प्रतिक्रिया