कर्णाली राजमार्गको जुम्ला–मान्म सडक खुल्यो, गगने खोलामा अझैँ अबरुद्ध

सुर्खेत । कर्णाली राजमार्गको जुम्ला–मान्म सडकखण्ड खुलेको छ । यही भदौ २० गते बेलुकी ७ बजे गएको पहिरोका कारण अवरुद्ध कर्णाली राजमार्गको जुम्ला–मान्म खण्ड सञ्चालनमा आएको हो ।
सोमबार राति पौने एक बजेदेखि जुम्लादेखि मान्म कालिकोटसम्मको बाटो सञ्चालनमा आएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।

जुम्ला–मान्म खण्डको सेरावाडा, सिम्ले र सिम्ले मोडमा पहिरो गएपछि सडक अवरुद्ध भएको र सडक डिभिजन कार्यालयले मेसिन र प्राविधिक टोली परिचालन गरेर सडक खुलाउने काम गरेको सडक डिभिजनका निमित्त प्रमुख सर्वणकुमार महाताराले बताए ।

उनका अनुसार यही भदौ महिनामै कर्णाली राजमार्गको कालिकोट जुम्ला खण्डमा साना ठूला गरेर १० वटाभन्दा धेरै पहिरो गएका छन् । सबैभन्दा धेरै गगनेखोलाको पहिरोले सास्ती दिइएको छ ।

गगनेखोलामा पहिरो सफा गर्ने कार्य भइरहेको उनले बताए । मौसम अनुकुल भए आज मंगलबार दिउँसो दुई बजेसम्म कर्णाली राजमार्ग पुर्णरुपमा सञ्चालनमा आउने छ ।

तपाईको प्रतिक्रिया