जिल्ला अस्पताल कालिकोटमा हाडजोर्नी तथा नसा रोग विशेषज्ञ सेवा सुरु


सुर्खेत । जिल्ला अस्पताल कालिकोटमा हाडजोर्नी तथा नसा रोग विशेषज्ञ सेवा सुरु भएको छ । अस्पतालमा हाडजोर्नी तथा नसा रोगका बिषेशज्ञ चिकित्सक पुगेपछि सेवा सुरु भएको हो ।

विशेषज्ञ चिकित्सकको आगमनसँगै हाडजोर्नी नसा सम्बन्धी विभिन्न समस्या भएका बिरामीले अब जिल्लामै विशेषज्ञ स्वास्थ्य सेवा पाउने भएका छन् ।

प्रदेश अस्पताल सुर्खेतबाट सरुवा भई आएका हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. सागर ढकालले अस्पतालमा सेवा दिन सुरु गरेको जिल्ला स्वास्थ्य सेवा व्यवस्थापक डा. रत्नवीर सुनारले बताए । ‘हाडजोर्नी तथा नसा सम्बन्धी उपचार जिल्ला अस्पतालबाट नियमित रुपमा सुरु भएको छ,’ उनले भने, ‘यससँगै हाडजोर्नी तथा नसा सम्बन्धी समस्या भएका बिरामीलाई उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको छ ।’

यसभन्दा अघि जिल्ला अस्पतालमा हाडजोर्नी तथा नसा रोग बिषेशज्ञ चिकित्सकको दरबन्दी भएपनि चिकित्सक नहुँदा सेवा सुरु हुन सकेको थिएन् ।

तपाईको प्रतिक्रिया