डोल्पा । डोल्पोबुद्ध गाउँपालिकामा भएको चोरीको घटनामा संलग्न दुई जनालाई प्रहरीले चोरी गरिएका विभिन्न सामान तथा नगदसहित पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा रुकुम पश्चिम, आठबिसकोट नगरपालिका–५ का ३७ वर्षीय छोरा तिलक भण्डारी र सोही नगरपालिका–३ का ३२ वर्षीय छोरा निशान भण्डारी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार गत भदौ ८ गते राति डोल्पोबुद्ध गाउँपालिका–२, कलाडका ३ जना स्थानीयको घरमा कोही नभएको मौका छोपी ताला फोडेर नगद तथा गहना चोरी भएको थियो।
भदौ ९ गते प्रहरी चौकी धो, डोल्पामा सूचना प्राप्त हुनासाथ प्रहरी निरीक्षक पदम रावलको कमान्डमा खटिएको टोलीले अनुसन्धान सुरु गरेको थियो।
अनुसन्धानका क्रममा प्रहरीले भदौ १० गते डोल्पोबुद्ध गाउँपालिका–१, धोबाट दुवै जनालाई चोरीका सामानसहित नियन्त्रणमा लिएको हो। पक्राउ परेका दुवै जनालाई भदौ ११ गते डोल्पा जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक विनय कुमार सिंहले जानकारी दिए।
बरामद गरिएका सामानहरूमा नगद रु. १ लाख ४८ हदार ६८५, यार्सागुम्बा ७०० ओटा, सुनको जस्तो देखिने चन्द्रमा (गहना) एक थान, चाँदी जस्तो देखिने वाला २ थान, कुबेर लकेट १ थान छन् ।
यस्तै, इलेक्ट्रोनिक्स र सञ्चार उपकरणमा एन्ड्रोइड मोबाइल ३ थान, किप्याड मोबाइल २ थान, स्मार्ट घडी २ थान, पावर बैंक २ थान, सिम कार्ड १ थान, दुर्बिन १ थान, टर्च लाइट १ थान छन् ।

नेपाल कर्म । १२ भाद्र २०८३, शुक्रबार १६:४४