सुर्खेत । कर्णाली प्रदेश सरकारले पछिल्लो समय देशका विभिन्न भागमा भइरहेको अविरल वर्षा र बाढी पहिरोको जोखिमलाई मध्यनजर गर्दै प्रदेशभर उच्च सतर्कता अपनाउन आह्वान गरेको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको विपद् व्यवस्थापन समन्वयात्मक बैठकले प्रदेशका कर्मचारीहरूलाई अत्यावश्यक कामबाहेक विदामा नबस्न निर्देशन दिएको हाे ।
बैठकले भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट कर्णालीका नागरिकहरूसमेत परेको हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै प्रदेश सरकारले ती नागरिकहरूको तथ्याङ्क संकलन गर्न र परिवारसँग सम्पर्क स्थापित गर्ने व्यवस्था मिलाउन प्रदेशभित्रका सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई पत्राचार गर्ने निर्णय गरेको छ।
चार जिल्लामा भारी वर्षाको पूर्वानुमान जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार भदौ ११ र १२ गते कर्णाली प्रदेशका पहाडी जिल्लाहरू खासगरी दैलेख, सुर्खेत, सल्यान र रुकुम पश्चिमका केही भूभागमा भारी वर्षा हुने सम्भावना छ।
यस अवस्थालाई दृष्टिगत गरी उच्च पहाडी तथा हिमाली क्षेत्रमा तीर्थयात्रा एवं पदयात्रामा रहेका सर्वसाधारणलाई सतर्क रहन भनिएको छ। विशेष गरी महावुधाम (दैलेख), बडिमालिका (बाजुरा), ऋणमोक्ष धाम (मुगु) र ठाकुरज्यू (जुम्ला) लगायतका स्थानमा यात्रा गरिरहेका तीर्थयात्री तथा पदयात्रीहरूले प्रयोग गर्ने सडक मार्ग र पैदल मार्गको मौसम सम्बन्धी जानकारी लिएर मात्र यात्रा अघि बढाउन सार्वजनिक सूचना जारी गरिएकाे छ ।
प्रदेशमा विपद् जोखिमको अवस्था कायम रहेकाले कार्यालय प्रमुख तथा जिम्मेवार कर्मचारीहरूलाई अति आवश्यक काम नपरी विदामा नबस्न निर्देशन दिइएको छ। अति आवश्यक काम परी विदामा बस्नै परेमा अनिवार्य रूपमा वैकल्पिक व्यवस्था मिलाएर मात्र बस्न भनिएको छ।
यसैगरी जाजरकोटका बाढी तथा पहिरो प्रभावितहरूका लागि राहत तथा उद्धारका कार्यहरू तीव्र पारिएको जानकारी दिँदै बैठकले विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी र प्रतिकार्यका लागि सबै सुरक्षा निकाय तथा सरोकारवालाहरूलाई उच्च सतर्कतामा रहन निर्देशन दिएको छ।
प्रदेश आपत्कालीन कार्यसञ्चालन केन्द्रबाट संकलित विवरणहरू मुख्यमन्त्री कार्यालयको सूचना बोर्डमा नियमित प्रकाशन गरिने बैठकले निर्णय गरेकाे छ ।

नेपाल कर्म । १० भाद्र २०८३, बुधबार २०:०४