बाजेनाती ग्रुपको पहिलो तीज कोसेली ‘झलिको माइती देशैको’ सार्वजनिक

मौलिकता, भावना र परदेशी चेलीको व्यथाको चित्रण

सुर्खेत । नेपाली नारीहरूको महान् पर्व हरितालिका तीजको पूर्वसन्ध्यामा बाजेनाती ग्रुपले आफ्नो पहिलो सांगीतिक सौगातको रूपमा तीज गीत झलिको माइती देशैको सार्वजनिक गरेको छ। भदौ १ गते बाजेनाती आधिकारिक युट्युब च्यानलमार्फत बजारमा ल्याइएको यो गीतले नेपाली चेलीहरूको माइतीप्रतिको अगाध माया, सम्झना र मौलिक संस्कृतिलाई भावनात्मक रूपमा उजागर गरेको छ।

गायिका जमुना विश्वकर्माको स्वरले गीतको भावलाई जीवन्त बनाएको छ। उनको गायकीले तीजको परम्परागत मर्मलाई स्पष्ट रूपमा पक्रिएको छ। निर्देशक यामुमगर १२१५ को निर्देशनमा तयार पारिएको भिडियोमा विजया पुरीको मुख्य अभिनय रहेको छ। पुरीको जीवन्त अभिनयले माइतीको सम्झनामा छडपडिएकाे चेलीको संवेदनालाई पर्दामा तारेको छ।

 निर्मल प्याकुरेलको छायांकन तथा सम्पादनले भिडियोको दृश्यलाई स्तरीय बनाएको छ। विगत केही समययता तीज गीतका नाममा भित्रिएका विकृति र भड्किलोपनका बीच झलिको माइती देशैकोले भने मौलिकता र लोक-संस्कृतिको जगलाई समात्ने प्रयास गरेको छ।

गीतले विशेष गरी घर-व्यवहार, कर्मघरको जिम्मेवारी वा परदेशको व्यस्तताका कारण तीजमा माइग्न पाउन नसकेका चेलीहरूको आन्तरिक वेदनालाई मुख्य विषय बनाएको छ।

आधुनिकताको नाममा भड्किला दृश्य र दोहोरो अर्थ लाग्ने शब्दहरूको प्रयोग भइरहेको वर्तमान समयमा, यस गीतले तीजको परम्परागत लय, शब्द र शालीनतालाई प्राथमिकता दिएको छ।

गीतले मनोरञ्जन मात्र नभई नेपाली समाजको पारिवारिक संरचना र चेली-माइतीबीचको भावनात्मक सम्बन्धलाई बलियो बनाउने सन्देश बोकेको छ।

आफ्नो पहिलो तीज कोसेली भएकाले बाजेनाती ग्रुपले यस सिर्जनाप्रति विशेष आशा र उत्साह व्यक्त गरेको छ। नेपाली मौलिक संस्कृति र परम्परालाई निरन्तरता दिने उद्देश्यले निर्माण गरिएको यस गीतलाई सम्पूर्ण दर्शक, श्रोता तथा शुभेच्छुकहरूले माया, साथ र हौसला प्रदान गर्नेमा निर्माण पक्ष विश्वस्त देखिन्छ।

तीजको सांस्कृतिक मर्मलाई आत्मसात् गर्दै तयार पारिएको झलिको माइती देशैकोले तीज गीतहरूमाझ आफ्नो बेग्लै र विशिष्ट पहिचान बनाउने संकेत देखाएको छ।

तपाईको प्रतिक्रिया