जाजरकोटमा औषधि व्यवसायीको हत्या : ५ जना पक्राउ, व्यावसायिक सुरक्षामाथि चिन्ता

जाजरकोट । भेरी नगरपालिकामा कुटपिटबाट घाइते भएका ३२ वर्षीय औषधि व्यवसायी दीपक कुमार थापाको उपचारका क्रममा मृत्यु भएपछि प्रहरीले घटनामा संलग्न पाँच जनालाई पक्राउ गरेको छ। सामान्य विवादका क्रममा भएको हातपातले ज्यानै जाने रूप लिएपछि स्थानीयस्तरमा शान्ति सुरक्षा र व्यवसायीको सुरक्षालाई लिएर चिन्ता बढेको हाे।

दैलेखको नारायण नगरपालिका वडा नं. २ स्थायी घर भई जाजरकोट भेरी नगरपालिका वडा नं. ११ जगतिपुरमा औषधि पसल सञ्चालन गर्दै आएका थापामाथि गत साउन २५ गते राति करिब ९ बजे भेरी-१० नुवागाडमा निर्घात कुटपिट भएको थियो।

कुटपिटबाट गम्भीर घाइते थापाको उपचारका लागि सुरुमा मिसन अस्पताल चौरजहारी (रुकुम पश्चिम) लगिएको थियो। त्यहाँ प्राथमिक उपचारपछि अवस्था जटिल बनेपछि उनलाई नेपालगन्जस्थित केयर सिटी अस्पताल लगिएकोमा साउन २८ गते बिहान १:२० बजे उपचारकै क्रममा उनको मृत्यु भएको हो।

घटनालगत्तै अनुसन्धानमा खटिएको प्रहरीले साउन २९ गते कुटपिटमा संलग्न ५ जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा भेरी नगरपालिका वडा नं. ८ बस्ने ३३ वर्षीय बीरेन्द्र खत्री, वडा नं. ९ बस्ने २१ वर्षीय निरज रोकाय, २१ वर्षीय शिशिर योगी गोसाई, २४ वर्षीय लक्ष्मण रोकाय र २८ वर्षीय बिनोद गोसाई रहेका छन्।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक सुधिर कुमार खड्काका अनुसार पक्राउ परेका सबैजनामाथि कर्तव्य ज्यान मुद्दा चलाइएको छ। जाजरकोट जिल्ला अदालतबाट पहिलो पटक १० दिनको म्याद थप गरी घटनाको सूक्ष्म अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

स्थानीय तहमा सञ्चालित साना व्यवसायीहरूमाथि रात्रिकालीन समयमा हुने यस्ता साङ्घातिक आक्रमणले उद्यमी-व्यवसायीहरूमा त्रास सिर्जना गरेको छ।

सामान्य कुटपिटको घटनाले ज्यानै लिनेसम्मको रूप लिनुले स्थानीय तहमा बढ्दो अपराध, समन्वयकाे कमी र युवाहरूमा अराजकता हाबी भएकाे देखिन्छ ।

प्रहरीले आरोपीहरूलाई तत्काल नियन्त्रणमा लिएर कानुनी दायरामा ल्याए पनि सर्वसाधारण र व्यवसायीहरूले शान्ति सुरक्षा विश्वास दिलाउँदै हदैसम्मकाे कानुनी सजायको माग गरेका छन्।

तपाईको प्रतिक्रिया