सुर्खेत । बिहानैको कुहिरो पन्छाउँदै उकालो चढ्दै गरेको यात्रुवाहक र ढुवानीका सवारी अचानक एउटा ठूलो खाल्डोमा पुगेर रोकिन्छ। चालकले स्टेरिङ कडासँग समात्छन्, यात्रुहरूको सास अडिन्छ।
एकैछिनमा गाडीको पाङ्ग्रा उप्किएको ओटासिल र माटोको दलदलमा चिप्लिन थाल्छ। यो कुनै दुर्घटनाको कथा होइन, सुर्खेत र दैलेखको सीमानामा पर्ने रातानाङ्गला–धरमपोखरा सडक खण्डमा यात्रा गर्ने सर्वसाधारणले दिनहूँ भाेगिरहेकाे पीडा हाे ।
रातानाङ्गला–धरमपोखरा सडकको दुरी २० किलोमिटर छ । तत्कालिन जिल्ला विकास समितिको कार्यालय सुर्खेतले २०७४ सालमा सडक निर्माण गरेको हो ।

ग्रामीण पहुँच सुधार र विकेन्द्रीकरण परियोजना (आरएआइडीपी) ले ग्रामिण क्षेत्रका नागरिकहरुलाई सहज सडक पहुँच जोड्ने उदेश्यले निर्माण गरेकाे थियाे ।
त्यो बेला दिवा/रोशन जेभीले १० करोड ९६ लाख लागतमा ओटासिल प्रविधिबाट सडक निर्माण गरेको थियो । २०७२ मा ठेक्का व्यवस्थापन भइ २०७४ मा निर्माण सकिएको सडक १० वर्षसम्म मर्मत नहुँदा नागरिकले सास्ती झेलिरहेका छन् ।
सुर्खेत र दैलेख जिल्लाको सिमाना छुट्टाएको सडकले मुख्यगरी दैलेखका साविक गोगनपानी, पिलाडी र लालीकाँडा (हाल गुराँस गाउँपालिकाका वडा ५–७) तथा सुर्खेतका रतु, गर्पन (हाल वीरेन्द्रनगर १५ र १६), अवलचिङ, रजेना, पाम्का, रानिवास र मटेला (हाल चिंगाड गाउँपालिका) जोड्छ । सडक निर्माण गरिएको १० वर्ष वित्नै लाग्दा पनि यात्रु र सवारी चालकले हैरानी व्यहोर्नु परेको छ ।

सडकको अवस्था अत्यन्तै जीर्ण र भयावह बनेको छ । विशेषगरी घुम्ती र मोडहरूमा गरिएको ओटासिल कालोपत्रे पूर्ण रूपमा उप्किएर सडकको अस्तित्व नै संकटमा परेको छ । मोडहरूमा ठूला–ठूला खाल्डाखुल्डी परेका छन् भने सडकभरि ढुङ्गा, गिट्टी र माटो छरपस्ट छन् ।

उकालो र साँघुरो घुम्तीमा कालोपत्रे भत्किँदा गाडीका पाङ्ग्राहरू उप्किएको माटो र गिट्टीमा भासिने तथा चिप्लिने जोखिम छ । वर्षातकाे समयमा यही सडक हिलाम्मे भएर भल बग्ने नहर जस्तै बन्ने गरेको छ ।
हिउँदमा उड्ने धुलोले वरपरको बस्ती र यात्रुको स्वास्थ्यमा गम्भीर असर पुर्याएको छ। उकालो घुम्तीमा बिग्रिएको सडकका कारण सवारी साधन नियन्त्रण गुमाएर दुर्घटना हुने जोखिम छ।

आकस्मिक बिरामी, सुत्केरी महिला, वृद्धवृद्धा तथा दैनिक आवतजावत गर्ने सर्वसाधारणका लागि यो सडक यात्रा एकातिर सास्ती त अर्कोतिर ज्यानकै बाजी लगाउनुपर्ने बाध्यता बनेको छ।
सडक जिर्ण र मोडहरुमा कालोपत्रे भत्किदा ज्यानमारा खाल्डा बनेका छन् । वर्षौंदेखि सडक मर्मतमा गुराँस गाउँपालिकालेसमेत चासो नदेखाउँदा सडक मर्मतमा कर्णाली सरकारले चसो देखाएको हो ।
आर्थिक वर्ष २०८२/०८३ मा प्रदेशको प्रादेशिक तथा स्थानीय सडक सुधार आयोजना, आयोजना व्यवस्थापन ईकाइ सुर्खेतले रातानाङ्गला—भ्यूचुला–धरमपोखरा सडक आवधिक मर्मत कार्य शिर्षकमा ८ करोड विनियोजन गरेको हो ।
एक वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित सडक निर्माणको जिम्मा डीएनएसपिएल कमलेश पराजुली जेभीले जिम्मा पाएको छ । ६ करोड ६५ लाखमा जेभीले ८ चैत २०८२ मा सम्झौता गरेको हो । ठेक्का हात पारेपछि निर्माण व्यवसायी अझै सम्पर्कमा आएको छैन् ।
‘ठेक्का व्यवस्थापन गरेर निर्माण गर्ने कार्याध्यास दिँदा पनि गत आर्थिक वर्षमा विटुमित (सडक कालोपत्रे गर्ने अलकत्रा) को मूल्य बढेको भन्दै काम गरेन,’ प्रादेशिक तथा स्थानीय सडक सुधार आयोजना, आयोजना व्यवस्थापन ईकाइ सुर्खेतका सूचना अधिकारी हरिप्रसाद धितालले भने, ‘अब काम गर्नुपर्यो भनेर निर्माण व्यवसायीलाई ताकेता गरिसकेका छौं र कार्यान्वयनका लागि पूर्वाधार विकास कार्यालय सुर्खेतलाई फायल बुझाइसकेका छौं ।’
सडक कार्यान्वयनका लागि सम्झौता गरिएको ठेक्का फायल ११ साउनमा हस्तान्तरण भइसकेको पूर्वाधार विकास कार्यालय सुर्खेतका प्रमुख सूर्यबहादुर शाही बताउँछन् । ‘फायल प्राप्त भएको छ । ठेक्का लागेको चार महिनासम्म पनि निर्माण व्यवसायी बेपत्ता रहेछन्,’ शाही भन्छन्, ‘सम्पर्कविहिन रहेकाले तत्काल फिल्डमा आएर काम गर्नका लागि पत्रचार गरिसकेका छौं ।’
ठेकेदारलाई तत्काल काममा नफर्काए रातानाङ्गला–धरमपोखरा सडकखण्डमा कुनै पनि दिन ठूलो मानवीय क्षति हुने जाेखिम छ ।

सुशील खड्का । २९ श्रावण २०८३, शुक्रबार १९:४०