रोल्पामा पहिरोमा परेर दुई जनाको मृत्यु, दश जना बेपत्ता

काठमाडौं । रोल्पाको थबाङ गाउँपालिका–५, उवा कोटलबारामा बुधबार राति आएको पहिरोमा परी दुई जनाको ज्यान गएको छ भने १० जना बेपत्ता भएका छन् । राति करिब ८ः४० बजे आएको पहिरोले आधा दर्जन घर गोठ बगाउँदा दुई जनाको मृत्यु हुनुका साथै दश जना बेपत्ता भएका हुन् ।

मृत्यु हुनेहरुमा १६ वर्षीया शान्ति पुनमगर र ६० वर्षीय कमलबहादुर पुनमगर रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक पंचकुमार बाखुले बताए ।

पहिरोमा पुरिएका २२ वर्षीय हिमाल पुनमगर र २५ वर्षीय सञ्जय घर्तीमगरको उद्धार गरी उपचारमा पठाइएको प्रहरीले जनाएको छ ।

पहिरो खसेको थाहा पाएलगत्तै प्रहरी त्यसतर्फ हिडे पनि राति करिब १०ः४५ तिर घटनास्थल पुगेको थियो । पहिरोमा दश जना बेपत्ता भएको र उनीहरुको उद्धार कार्य जारी रहेको प्रहरी नायब उपरीक्षक बाखुले बताए ।

पहिरो खस्दा स्थानीय कमलबहादुर पुन मगरको घरसहित करिब ६ वटा घर तथा गोठ पुरिएको प्रहरीले जनाएको छ ।

बिहीबार बिहानदेखि नै प्रहरी र स्थानीयबासीले उद्धारको काम जारी राखेका छन् ।

तपाईको प्रतिक्रिया