डोल्पा । ठुलीभेरी नगरपालिका–२ स्थित लोचा गाउँमा नयाँ सडकको ट्र्याक खोल्ने क्रममा एक्जाभेटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।बुधबार बिहान करिब १०:३० बजे दुनैबाट लोचागाउँतर्फ जाँदै गरेको ना.बा.प्र. ०१–००१ ग ४२१० नम्बरको एक्जाभेटर सडकबाट करिब ५०–६० मिटर तल खसेर दुर्घटना भएको हो।
दुर्घटनामा ठुलीभेरी नगरपालिका-६ काँडातालीका अन्दाजी ३१ वर्षीय मन्दिर रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक (डिएसपी) अनिलराज गिरीले जानकारी दिए।

घटनालगत्तै जिल्ला प्रहरी कार्यालय डोल्पाबाट प्रहरी नायब निरीक्षक सञ्जीव गुप्ताको कमाण्डमा खटिएको सात जनाको प्रहरी टोली र स्थानीयको सहयोगमा घाइते रोकायाको उद्धार गरिएको थियो।
घाइते रोकायालाई बिहान ११:२० बजे जिल्ला अस्पताल दुनै पुर्याइएको थियो। नाकबाट रगत बगिरहेको तथा बायाँ खुट्टा र पेटमा गम्भीर चोट लागेका उनको उपचारकै क्रममा दिउँसो १:२० बजे मृत्यु भएको अस्पतालले जनाएको छ।
‘घाइतेलाई बचाउन हरसम्भव प्रयास गरिए पनि बचाउन सकिएन,’ डिएसपी गिरीले भने, ‘घटनाबारे थप विस्तृत अनुसन्धान भइरहेको छ।’
घाइतेको अवस्था गम्भीर भएपछि थप उपचारका लागि काठमाडौँबाट ९ लाख खर्चेर फिष्टेल एयरको हेलिकप्टर चार्टर गरिएको थियो। तर, हेलिकप्टर पोखरा पुग्दै गर्दा जिल्ला अस्पताल दुनैका डाक्टर नवीन शाहीले बिरामीको अवस्था अत्यन्तै नाजुक रहेको र बचाउन सक्ने सम्भावना नरहेको जानकारी गराएका थिए।
लगत्तै अस्पतालले रोकायालाई मृत घोषणा गरेपछि दुनै पुग्दै गरेकाे हेलिकप्टर पोखराबाटै काठमाडौँ फर्किएको ठुलीभेरी नगरपालिका–८ का वडा अध्यक्ष मनराम ठकुल्लाले बताए।
पोखरासम्म पुगेको हेलिकप्टरको सम्पूर्ण खर्च नगरपालिकामार्फत व्यवस्थापन गरिने प्रतिबद्धता नगरप्रमुख स्वर्णकुमार बुढाले जनाएका छन्। प्रमुख जिल्ला अधिकारी र नगर प्रमुखले घाइतेको ज्यान जोगाउन हरसम्भव प्रयास गरे पनि बचाउन नसकिएको वडा अध्यक्ष ठकुल्लाले दुःखेसो पोखे।
दुर्घटनामा परेको एक्जाभेटर ठुलीभेरी नगरपालिकाको रहेको प्रहरीले जनाएको छ। निर्माण व्यवसायी को हुन् र कुन परिस्थितिमा काम भइरहेको थियो भन्नेबारे प्रहरीले अनुसन्धान थालेको छ। घटना जिल्ला प्रहरी कार्यालय डोल्पाबाट करिब ७ किलोमिटर पूर्वतर्फ पर्दछ।

नेपाल कर्म । २७ श्रावण २०८३, बुधबार १५:५६