
सुर्खेत। कालिकोटको खाँडाचक्र नगरपालिका–७ पिलीमा अटो दुर्घटना हुँदा चार जना घाइते भएका छन् । सोमबार बिहान कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकखण्ड अन्तर्गत पिलीबाट मान्मतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ह ११९४ नम्बरको अटो दुर्घटना भएको हो ।
अटो दुर्घटना हुँदा महावै गाउँपालिका–५ गेला निवासी ३५ वर्षीय मङ्गल शाही र सोही ठाउँकी २५ वर्षीया सबिना शाहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । त्यस्तै, महावै–६ की २६ वर्षीया प्रतिमा आचार्य र महावै–५ का २९ वर्षीय कुलप्रसाद भट्टराईको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । अवस्था गम्भीर रहेका दुई जनालाई थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिण्ठान जुम्ला पठाइएको प्रहरीले जनाएको ्छ ।
खाँडाचक्र नगरपालिका–७ पिलीका ४७ वर्षीय कृष्णबहादुर मल्लले चलाएको अटो दुर्घटना भएको र चालकलाई अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । अटोमा चालकसहित पाँच जना सवार थिए ।

नेपाल कर्म । २५ श्रावण २०८३, सोमबार १७:०४