सामाजिक कुरीतिविरुद्ध हातेमालो गर्दै पूर्व बालक्लब अगुवा, संयोजकमा तेज साेनाम

सुर्खेत । बालबालिकाहरूको आवाज पहिचान गर्ने र संस्थागत अभ्यासमा लामो समय सक्रिय रहेका सदस्यहरू संगठित हुँदै सुर्खेतमा बाल क्लब पूर्व सदस्य संजाल गठन गरिएको छ

सुर्खेतमा आयोजित पूर्व बाल सदस्यहरूको प्रथम भेलाले बालअधिकार, सामाजिक न्याय र रूपान्तरणमुखी विकासमा योगदान पुर्‍याउने उद्देश्यका साथ संजाल गठन गर्दै ऐतिहासिक घोषणापत्र जारी गरेको हो

सञ्जालकाे संयाेजकमा तेज सोनाम, सह-संयोजकमा अनिता नेपाली र सदस्य सचिवमा सिसिआर कर्णालीलाइ जिम्मेवारी दिएकाे छ । यस्तै, सदस्यहरूमा हरिकला खड्का, निता भियाल, प्रकाश नेपाली, दीपक डाङ्गी, बाले विश्वकर्मा, रण बहादुर कार्की, जयन्तासुधा खत्री र हरिकाला खड्का छन् ।

तत्कालका लागि प्रत्येक जिल्लाबाट १/१ जना प्रतिनिधि छनोट गरी १० सदस्यीय कार्यसमिति गठन गर्ने र सोही समितिले संयोजक, सचिव तथा कोषाध्यक्षको चयन गर्ने जनाइएको छ

समितिमा १ जना महिला, १ जना दलित, १ जना जनजाति, १ जना अपाङ्गता भएका व्यक्ति र १ जना लैंगिक अल्पसङ्ख्यकको अनिवार्य प्रतिनिधित्व रहने गरी पूर्ण समावेशी ढाँचा तयार पारिएको छ

बाल समूहका वर्तमान तथा पूर्व सदस्यहरूलाई एउटै मञ्चमा संगठित गर्दै विगतको अनुभवलाई समाज रूपान्तरणमा उपयोग गर्न यो पहल सुरु गरिएको हो

संजालले बालविवाह, छाउपडी, समावेशी तथा गुणस्तरीय शिक्षा, बसाइँसराई, अनलाइन सुरक्षा, लागूऔषध दुर्व्यसनी, लैंगिक विभेद, प्रजनन स्वास्थ्य अधिकार, जलवायु परिवर्तन तथा विपद् जोखिम न्यूनीकरण जस्ता गम्भीर सामाजिक मुद्दाहरूमा एकीकृत रूपमा कार्य गर्ने लक्ष्य राखेको छ

विश्वभर छरिएर रहेका पूर्व बाल सदस्यहरूलाई सञ्जालकृत गर्दै सरकार, समुदाय र नागरिक समाजको क्षमता अभिवृद्धिमा सहकार्य गर्ने संजालको योजना छ

यसैगरी बालबालिका तथा युवाहरूको शिक्षा, सीप र उद्यमशीलता विकासमा सहयोग पुर्‍याउनुका साथै आपसी सहयोग प्रणालीमार्फत सदस्यहरूको आवश्यकतामा हातेमालो गरिने घोषणापत्रमा उल्लेख छ

संजालले पूर्ण रूपमा सदस्यतामा आधारित र लोकतान्त्रिक नीति निर्माण प्रणाली अवलम्बन गर्नेछ। गैर-राजनीतिक तथा धार्मिक तटस्थता कायम राख्दै बाल अधिकार संरक्षणका लागि सरकारी संरचनाहरूसँग निरन्तर सहयोग र समन्वय गरिने संजालले जनाएको छ

भेलाको अन्त्यमा पूर्व बालक्लब अगुवाहरू खगराज आचार्य, गोरखनाथ आचार्य, जितलाल ढकाल, सुरङ्ग कुमार खड्का, पिताम्बर ढकाल, प्रकाश नेपाली, अनिता नेपाली, क्रान्ति खड्का, हिम उपाध्याय, तारा पौडेल, लिला शाही लगायतका प्रतिनिधिहरूले संयुक्त रूपमा घोषणापत्रमा हस्ताक्षर गरेका छन्

तपाईको प्रतिक्रिया