कर्णाली राजमार्गकाे तल्लो डुंगेश्वरमा ट्रकमुनि मोटरसाइकल र चालक थिचिए

दैलेख। कर्णाली राजमार्गअन्तर्गत दैलेखको तल्लो डुंगेश्वरस्थित पुलमा ब्रेक फेल भएको एक ट्रकले मोटरसाइकललाई किच्दा दुर्घटना भएको छ।सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको भे १ ख ३७१ नम्बरको ट्रकको ब्रेक फेल भई पुल क्रस गर्दै गरेको भे १४ प ६७१४ नम्बरकाे मोटरसाइकललाई च्यापेको हो ।

दुर्घटनामा परेर मोटरसाइकल र त्यसका चालक दुवै ट्रकमुनि थिचिएका छन्। ट्रकले च्यापेका कारण चालकलाई तत्काल बाहिर निकाल्न नसकिएको स्थानीयले जानकारी दिएका छन्। मृतकको पहिचान अझै खुल्न सकेको छैन।

घटनालगत्तै ट्रकका चालक भने फरार भएका छन्। दुर्घटनाका कारण पुलमा तेस्रिएकाे ट्रक हटाउन नसक्दा कर्णाली राजमार्गको उक्त खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

अहिले ट्रक हटाएर अवरुद्ध सडक खुलाउने र किचिएका चालकको निकाल्ने प्रयास भइरहेको छ। घटनाको जानकारी पाउने बित्तिकै प्रहरी चाैकी तल्लाे डुंगेश्वरबाट प्रहरी खटिएकाे छ । जिल्ला प्रहरी कार्यालय दैलेखबाटसमेत थप प्रहरीको टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको छ।

तपाईको प्रतिक्रिया