सुर्खेतमा इभी गाडीको ठक्करबाट स्कुटर चालक गम्भीर घाइते, गाडी फरार

सुर्खेत । वीरेन्द्रनगरको धुलियाबिट नजिकै इभी (विद्युतीय) गाडीको ठक्करबाट एक स्कुटर चालक गम्भीर घाइते भएका छन्। असार २० गते बुधबार राती ९ बजे सुब्बाकुनाबाट बजारतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००२ प ९९६२ नम्बरको स्कुटरलाई पहिचान नखुलेको इभी गाडीले ठक्कर दिएको हो।

ठक्कर दिने गाडी दुर्घटनालगत्तै फरार भएको छ। गाडीको ठक्करबाट वीरेन्द्रनगर नगरपालिका–९, लाटिकोइली बस्ने ३७ वर्षीय रामु महतारा गम्भीर घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख रोहित शाहीले जानकारी दिए।

घाइते महताराको प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज पठाइएको छ। अहिले उनको न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटनापछि फरार रहेको इभी गाडी र त्यसका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया