सुर्खेतमा सैनिक कल्याणकारी कोषको ५ करोड लागतकाे रिपुमर्दिनी पम्प सञ्चालन

सुर्खेत । सैनिक कल्याणकारी कोषको ५ करोड रुपैयाँ आर्थिक लगानीमा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा अत्याधुनिक सुविधासहितको श्री रिपुमर्दिनी पेट्रोल पम्प सञ्चालनमा आएको छ। बुटवलपछि पश्चिम नेपालकै पहिलो नमुना पम्पका रूपमा यसलाई सञ्चालनमा ल्याइएको हो।

भौगोलिक दृष्टिले कठिन कर्णाली प्रदेशमा आइपर्ने जुनसुकै विषम परिस्थितिमा पनि इन्धनको सहज, सुरक्षित र निरन्तर आपूर्ति सुनिश्चित गर्ने मुख्य लक्ष्यका साथ यो पेट्रोल स्टेशन स्थापना गरिएको हो।

प्रदेश राजधानी सुर्खेतमा सुविधासम्पन्न नमुना पम्प सञ्चालनमा आएसँगै स्थानीय उपभोक्ता, सार्वजनिक यातायात व्यवसायी तथा लामो दूरीका सवारी चालकहरूलाई इन्धन प्राप्त गर्न सहज हुनेछ।

सञ्चालनमा आएको यस पेट्रोल स्टेशनको भण्डारण क्षमता ४८ हजार लिटर पेट्रोल र ४८ हजार लिटर डिजेल रहेको छ। ग्राहकलाई छिटो-छरितो र व्यवस्थित सेवा दिनका लागि पम्पमा ७ वटा डिस्पेन्सर मेशिनमार्फत १४ वटा नोजलबाट एकैसाथ इन्धन वितरणको व्यवस्था मिलाइएको छ।

साथै, प्रविधिमैत्री सेवालाई ध्यानमा राख्दै परिसरमै एटीएम सेवा सञ्चालनमा ल्याइएको छ भने सवारी साधनको मर्मतका लागि छिटै वर्कसप समेत सुरु गर्ने तयारी भइरहेको छ।

पम्प सञ्चालनबाट प्राप्त हुने मुनाफा नेपाली सेनाका बहालवाला एवम् अवकाशप्राप्त सैनिक र तिनका आश्रित परिवार तथा सन्ततिको हितमा पूर्ण रूपमा लगानी गरिनेछ।

व्यावसायिक लाभभन्दा पनि सामाजिक र कल्याणकारी उद्देश्यले सञ्चालित यस पम्पको आम्दानी सैनिक परिवारका बालबालिकाको गुणस्तरीय शिक्षा, परिवारका सदस्यको स्वास्थ्य उपचार, स्वरोजगारका लागि विभिन्न सीपमूलक तालिम तथा पुनर्स्थापनाका कार्यक्रमहरूमा खर्च गरिनेछ।

तपाईको प्रतिक्रिया