सुर्खेत । हिन्दू नारीहरूको महान् चाड हरितालिका तीज नजिकिँदै गर्दा सांगीतिक बजारमा तीजका भाकाहरू सार्वजनिक हुने क्रम तीव्र बनेको छ। विकृति र भड्किलोपनको बहस भइरहेका बेला नेपाली मौलिकता, चेली-माइतीबीचको माया र तीज पर्वको गहन सांस्कृतिक गरिमालाई पुनर्जाग्रित गर्ने उद्देश्यका साथ नयाँ तीज गीत माइतीको दैलो बरिलै सार्वजनिक गरिएको हाे।
आधुनिकताको नाममा तीजका परम्परागत लय र भावना ओझेलमा पर्दै गएको वर्तमान परिवेशमा यस गीतले नेपाली लोकलय र सांस्कृतिक पहिचानलाई पुनः स्थापित गर्ने सार्थक प्रयास गरेको निर्माता भुवन खरालले बताए।

गीतले मनोरञ्जन मात्र नभई चेलीको माइतीप्रतिको अगाध स्नेह, बाल्यकालका बालापनका स्मृतिहरू, माइतीघरको ममतामयी वातावरण र तीज पर्वको सामाजिक–सांस्कृतिक आयामलाई भावनात्मक र गहिरो ढंगले प्रस्तुत गरेको छ।
सांस्कृतिक मर्मलाई जीवन्त राख्नका लागि गीतको शब्द-चयन, भाव-अभिव्यक्ति, मौलिक गायन शैलीका साथै परम्परागत वाद्यवादनको संयोजनमा विशेष सजगता अपनाइएको उनले बताए ।
गीतकार भानुभक्त रिजालका अनुसार, हामीले गीतको दृश्य र श्रव्य दुवै पक्षमा नेपालीपनको आत्मा जोगाउने कोसिस गरिएकाे छ। ग्रामीण परिवेश, परम्परागत नेपाली पहिरन, तीजका सांस्कृतिक जीवनशैली र मौलिक क्रियाकलापलाई कलात्मक रूपमा पर्दामा उतारिएको उनी बताउँछन् ।
छायाँकन, सम्पादन, रङ संयोजन, निर्देशन, लोकेसन छनोट तथा कोरियोग्राफी लगायतका प्राविधिक एवं सिर्जनात्मक पाटोमा पोखिएको सामूहिक प्रयासले गीतलाई उत्कृष्ट रहेकाे दावी छ ।
निर्माता तथा प्राविधिक टोलीले सम्पूर्ण दर्शक, श्रोता एवं शुभचिन्तकहरूमा गीत हेरेर, सुनेर प्रतिक्रिया दिनुका साथै मौलिक कला र संस्कृतिको संरक्षणको यो अभियानमा साथ दिन अपिल गरेका छन्।
आगामी दिनहरूमा पनि नेपाली भाषा, संस्कृति, परम्परा र पहिचानलाई प्रवर्द्धन गर्ने यस्तै कालजयी सिर्जनाहरू निरन्तर पस्कँदै जाने प्रतिबद्धता निर्माण पक्षले व्यक्त गरेको छ।

नेपाल कर्म । १७ श्रावण २०८३, आईतवार १६:५३