डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ करबघाटमा एक बालक स्कुल ड्रेसमै मृत भेटिएका छन् । स्कुलबाट घर फर्किदै गरेका स्थानीय सिद्धिलाल रोकाका ९ वर्षीय छोरा बीरेन्द्र रोका विद्युत पाेल नजिकैकाे सडक किनारामा मृत भेटिएकाे जिल्ला प्रहरी कार्यालय डाेल्पाका प्रहरी नायब उपरीक्षक अनिल राज गिरी जानकारी दिएका हुन् ।

उनले करेन्ट लागेर हाे वा अन्य केही कारणले मृत भेटिए भन्ने विषयमा अनुसन्धान गर्न प्रहरी घटनास्थल पुगिसकेकाे बताए । विद्यालयको पोशाकमै रहेका बालक बीरेन्द्र बाटोमा हिँड्ने क्रममा विद्युतको पोलमा लिक भएको करेन्टको सम्पर्कमा भएकाे र त्यसपछि करेन्ट लागेकाे हुन सक्ने प्रारम्भीक अनुमान छ ।
९ वर्षीय अबोध बालकको स्कुल ड्रेसमै अकालमा ज्यान गएपछि करबघाट गाउँ र विद्यालय परिवार शोकमा डुबेको छ। नेपालका ग्रामीण क्षेत्रमा विद्युतका पोल तथा तारहरूको उचित मर्मतसम्भार र सुरक्षा व्यवस्थापन नहुँदा यस्ता जोखिमपूर्ण दुर्घटनाहरू बारम्बार दोहोरिने गरेकाे स्थानीय बताउँछन् ।
स्थानीयवासीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही, पीडित परिवारलाई उचित क्षतिपूर्ति र जिर्ण अवस्थामा रहेका विद्युतका पोलहरू तत्काल मर्मत गर्न माग गरेका छन्।

नेपाल कर्म । १४ श्रावण २०८३, बिहीबार १९:३९