सुर्खेत । सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका सुर्खेतका ६० वर्षीय रत्न बहादुर विश्वकर्माको उपचारका क्रममा भारतको लखनउमा मृत्यु भएको छ।
प्रहरीका अनुसार गत असार २४ गते बिहान करिब १०:०० बजे वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ धुलियाबिट सुर्खेत नजिकैको भित्री सडक खण्डमा दुर्घटना भएको थियो ।
वीरेन्द्रनगर–५ बस्ने २३ वर्षीय राजु सुनारले चलाएको कर्णाली प्रदेश ०२००१ स १०९४ नम्बरको अटोले पैदल यात्री वीरेन्द्रनगर–११ बस्ने ६० वर्षीय रत्नलाई ठक्कर दिएको हाे।
अटोको ठक्करबाट टाउको र ढाडमा गम्भीर चोट लागेका विश्वकर्मालाई तत्काल उपचारका लागि कर्णाली केयर अस्पताल सुर्खेत लगिएको थियो।
सुरुमा मध्यम अवस्थामा रहेका उनको स्वास्थ्यमा समस्या थपिँदै गएपछि सोही दिन दिउँसो ४:०० बजे थप उपचारका लागि नेपालगन्ज नर्सिङ होम रिफर गरिएको थियो।
नेपालगन्जमा पनि उपचार सम्भव नभएपछि असार २६ गते साँझ ६:०० बजे उनलाई थप उपचारका लागि भारतको लखनउस्थित सिटी अस्पताल पठाइएको थियो।
उपचारकै क्रममा आज (साउन १४ गते) बिहान ४:०० बजे उनको भारतमै मृत्यु भएको हो।
मृतकको शवलाई ल्याएर आजै दिउँसो २:३० बजे प्रदेश अस्पताल कालागाउँ, सुर्खेतको शवगृहमा राखिएको छ।
घटनालगत्तै प्रहरी चौकी सुब्बाकुनाबाट प्रहरी नायब निरीक्षक (प्रनानि) गोविन्द खत्रीको कमाण्डमा ४ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
दुर्घटना गराउने अटो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडि बढाएको सुर्खेत प्रहरीले जनाएको छ।

नेपाल कर्म । १४ श्रावण २०८३, बिहीबार १५:३२