तत्कालिन पलाँता गाउँपालिका उपाध्यक्षसहित १० जना बिरुद्ध मुद्धा


सुर्खेत । कालिकोट पलाँता गाउँपालिकाका तत्कालिन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनालाई सरकारी सम्पत्ति अनियमिता गरेको आरोपमा मुद्धा लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पलाँता गाउँपालिकामा सडक निर्माण योजनामा अनियमितता गरी सरकारी रकम हिनामिना गरेको आरोपमा तत्कालिन उपाध्यक्षसहित १० जना बिरुद्ध मुद्धा दायर गरेको हो ।

आयोगले तत्कालिन उपाध्यक्ष न्यौपानेसहित तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर बम, लेखा प्रमुख खिमलाल पुन, सहायक लेखापाल मुनीप्रसाद प्याकुरेल, सब–इन्जिनियर विनोदकुमार बम र नन्दबहादुर सिंह, वडा नम्बर ९ का तत्कालीन वडा अध्यक्ष टक्कबहादुर बम, योजनाको उपभोक्ता समितिका अध्यक्ष कुम्भबहादुर बम, कोषाध्यक्ष सुलाक्षिना बम र सचिव कमलबहादुर बम विरुद्ध मुद्धा दायर गरेको हो ।
द्द
आयोगले आर्थिक वर्ष २०७५÷०७६ मा सञ्चालन गरिएको बेल्केढुङ्गा–लेखनवाडा–दुर्सी–पागोटी सडक निर्माण योजना अन्तर्गत वास्तविक कार्यभन्दा बढी काम भएको देखाएर सरकारी कोषबाट रकम भुक्तानी गरेको र अनुसन्धानबाट योजनामा १ हजार २०० घनमिटर ग्याभिन भरिएको भनी झुटो नापी किताब, कार्य सम्पन्न प्रतिवेदन तथा मूल्याङ्कन तयार गरी उपभोक्ता समितिलाई ३८ लाख रुपैयाँ भुक्तानी गरिएको खुलेको आयोगले जनाएको छ ।

तर आयोगको प्राविधिक टोलीले स्थलगत नापजाँच गर्दा ९३९.५० घनमिटर मात्र ग्याभिन भरिएको पुष्टि भएको छ । यसरी वास्तविक कार्यभन्दा २६०.५० घनमिटर कम काम भएको अवस्थामा समेत पूर्ण भुक्तानी दिइएको र त्यसबाट नेपाल सरकारलाई ८ लाख ८ हजार ६ सय ८० रुपैयाँ ५७ पैसा बराबरको हानि–नोक्सानी पुगेको आयोगको निष्कर्ष छ । उक्त योजनाका लागि ४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

तपाईको प्रतिक्रिया