सुर्खेत । कर्णाली प्रदेशमा भौगोलिक विकटता, कच्ची सडक र बढ्दो सवारी साधनको चापसँगै सडक सुरक्षा चुनौती बन्दै गएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय वीरेन्द्रनगर, सुर्खेतले सार्वजनिक गरेको तथ्यांकले कर्णालीमा सडक दुर्घटना र घाइतेको संख्या बढेको छ भने मृत्युदरमा भने केही कमी आएको हाे।
अघिल्लो आर्थिक वर्ष २०८१/०८२ को तुलनामा गत आर्थिक वर्षमा सवारी दुर्घटनाको संख्यामा २३ प्रतिशत र घाइतेको संख्यामा १४ प्रतिशतले वृद्धि भएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।
उनले ट्राफिक प्रहरीको समयमै उपस्थिति र उद्धारका कारण कुल मृत्युदरमा भने ३ प्रतिशतले कमी आएको बताए । तथ्याङ्क अनुसार कर्णाली प्रदेशमा प्रतिदिन औसत ३ वटा सडक दुर्घटना हुने गरेका छन् । यी दुर्घटनामा परी दैनिक औसत ६ जना घाइते हुने गरेका छन् भने औसत ०.३६ जनाले ज्यान गुमाउने गरेका छन् । प्रदेशका १० जिल्लामध्ये सबैभन्दा बढी दुर्घटना सुर्खेतमा ६९० वटा र सबैभन्दा कम मुगुमा १७ वटा भएका छन्।
कर्णालीका सडकमा हुने दुर्घटनाको मुख्य कारण चालकको लापरवाही र तीव्र गति देखिएको छ। कुल दुर्घटनाको ६२ प्रतिशत दुर्घटना तीव्र गतिका कारण हुने गरेको तथ्याङ्कले देखाएको छ। त्यसैगरी दुर्घटनामा परेका सवारी साधनमध्ये ४७ प्रतिशत दुई पाङ्ग्रे मोटरसाइकल तथा स्कुटर रहेका छन्।
दुर्घटनामा परी ज्यान गुमाउनेहरूमा सबैभन्दा ठूलो संख्या उत्पादनशील उमेर समूहको रहेको छ। ज्यान गुमाएकामध्ये २६ देखि ४० वर्ष उमेर समूहका ४४ प्रतिशत रहेका छन् भने १६ देखि २५ वर्षका २३ प्रतिशत रहेका प्रमुख रिजालले जानकारी दिए । समयको हिसाबले दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्मको समयमा सबैभन्दा बढी दुर्घटना हुने गरेको तथ्यांकमा उल्लेख छ।
कर्णाली प्रदेशभर हाल कुल ९ हजार ६८७ दशमलव ६२ किलोमिटर सडक सञ्जाल रहेको छ। जसमध्ये कच्ची सडकको ७ हजार १०८ दशमलव २ किलोमिटर (७३ प्रतिशतभन्दा बढी) रहेको छ। पक्की सडक १ हजार ३८४ दशमलव ४१ किलिमिटर र ग्राभेल सडक १हजार १९४ दशमलव ६५ किलिमिटर मात्र छ ।
प्रदेशभर दर्ता भएका ४० हजार ९५६ सवारी साधन र विस्तृत सडक सञ्जालको व्यवस्थापनका लागि हाल २१५ जना मात्र ट्राफिक प्रहरी परिचालन रहेका रिजालले बताए । यस हिसाबले कर्णालीमा प्रति ट्राफिक प्रहरी ७ हजार ८८३ नागरिक र ४५ किलोमिटर सडकको दायित्व पर्ने गरेको छ।
अघिल्लो वर्षको तुलनामा गत वर्षमा ट्राफिक कारबाही संख्यामा २३ प्रतिशत र राजस्व संकलनमा २० प्रतिशतले कमी आएको छ। प्रविधिको प्रयोगको पूर्ण कार्यान्वयन, लक्षित वर्गमा निरन्तर जनचेतनामूलक कार्यक्रम र नागरिकमा बढेको ट्राफिक नियमको पालनाले गर्दा कारबाही संख्या घटेको ट्राफिक प्रहरीको दाबी छ।
दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले निगरानी र सचेतनामूलक अभियानलाई सँगसँगै लगेको छ। वर्षभरिमा ८ हजार २७८ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरी ५ लाख ६९ हजारभन्दा बढी नागरिकलाई सचेत गराइएको छ।
यसैगरी, नियम विपरीत थपिएका ३५० सवारी साधनबाट ५७० वटा अवैध सिट हटाइएको छ भने स्वीकृति बिना लगाइएका ३२८ वटा सवारी साधनका कालो सिसा/स्टिकर निकालिएको छ। निजी नम्बर प्लेट (रातो प्लेट) मा यात्रु बोक्ने १,७६५ वटा सवारी साधनलाई कारबाही गरिएको छ।
सुरक्षित कर्णाली विशेष अभियान अन्तर्गत लागुपदार्थ सेवन (लापसे) गरी सवारी चलाउने १० जना चालकलाई नियन्त्रणमा लिई कानुनी कारबाही गरिएको छ। सामाजिक सञ्जालमा भाइरल हुन स्टन्ट गर्ने र तीव्र गतिमा हाक्ने चालकहरूलाई समेत पहिचान गरी कारबाहीको दायरामा ल्याइएको छ।
प्रहरी उपरीक्षक रिजालले सडक दुर्घटना मानिसको सानो लापरवाहीका कारण हुने भएकाले सडक सुरक्षा प्रहरीको मात्र नभई चालक, यात्रु र सम्पूर्ण नागरिकको साझा जिम्मेवारी भएको बताए ।

सुशील खड्का । ६ श्रावण २०८३, बुधबार २०:०७