कर्णाली नदीमा बेपत्ता गाडी र भेटिएनन् सह-चालक, रोकियो खोजी

दैलेख । असार १८ गतेको त्यो बिहीबार अछामको तुर्माखाद गाउँपालिका–२ ज्यूलाका मोहन विष्ट रोपाइँमा व्यस्त थिए। असारको चटारो, हिलो र पानीको छ्यापछ्यापका बीच उनको नजर अचानक कर्णाली नदी किनाराको राजमार्गमा पर्‍यो।

सुर्खेतबाट यात्रु लिएर कालिकोटको रास्कोटतर्फ जाँदै गरेको क.प्र. ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी एकाएक अनियन्त्रित भयो र फिल्मी शैलीमा चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेतडा (दैलेख) तर्फको भीरबाट सिधै कर्णाली नदीमा बज्रियो।

क्षणभरमै त्यो गाडी उर्लिएकाे कर्णाली नदीको बहावमा बिलायो। विष्टले हतार-हतार झन्डै साढे दुई किलोमिटरको दूरीमा रहेको प्रहरी चौकी पाल्तडालाई फोनमार्फत त्यो दुःखद खबर टिपाए।

खबर पाएको केही मिनेटमै पाल्तडाबाट प्रहरीको टोली घटनास्थलतर्फ पुग्याे । दुर्घटनाको त्यो भयानक शृङ्खला, जसले सिंगो मुलुकको ध्यान तान्यो, ११ दिनपछि अन्ततः एउटा दुःखद मोडमा पुगेर तत्कालका लागि टुङ्गिएको छ।

भीरको उद्धारदेखि पाँच नामको पहिचानसम्म
प्रारम्भिक रूपमा गाडी खसेको क्षेत्रबाट नदी किनारमा झर्न निकै कठिन थियो। तैपनि प्रहरी चौकी पाल्तडा, माथिल्लो कर्णाली जलविद्युत सुरक्षार्थ गाबमा रहेको सशस्त्र प्रहरी बेसक्याम्प लगायतको टोलीले भीरमै कोही अड्किएको हुन सक्ने अनुमान गर्दै खोजतलास सुरु गर्‍यो।

भीरमा एक जना पुरुष गम्भीर घाइते अवस्थामा भेटिए। उनलाई उद्धार गरी दुल्लु अस्पताल पुर्‍याइयो । जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरे। पछि उनको पहिचान कालिकोट पचालझरना गाउँपालिका–९ का ५४ वर्षीय जेखे तिरुवाको रहेकाे खुल्याे।

स्तब्ध बनाउने यो घटनाको खबर पाएलगत्तै नेपाल प्रहरीका प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख जयराज सापकोटासहित दैलेखका सुरक्षा निकायका प्रमुखहरू घटनास्थल पुगेका थिए।

शुरूवातमा गाडीमा कति यात्रु सवार थिए भन्ने यकिन थिएन। तर प्रहरी चौकी तल्लो डुङ्गेश्वरको गाडी इन्ट्री रेकर्ड हेर्दा चालक, सहचालक, दुई यात्रु पुरुष र एक जना महिला गरी पाँच जना सवार रहेको पुष्टि भयो।

घटनाको तीन दिनसम्म पाँच जनाको नाम मात्रै प्रहरी कहाँ पुगेको थियो । अन्य कुनै आफन्तले थप दाबी गरेका थिएनन्। सोही आधारमा जिल्ला प्रहरी कार्यालय दैलेखले गाडीमा सुर्खेत पञ्चपुरी नगरपालिका–८ माझिगाउँका चालक तुलाराम सुवेदी, उनका दाजु सह–चालक रामप्रसाद सुबेदी, रास्कोट नगरपालिका–२ खड्कागाउँ कालिकोटकी सिर्जना खड्का, साढु दाजुभाइ पचालझरना–९ कालिकोटका मेखे तिरुवा र जेखे तिरुवा सवार रहेको विवरण सार्वजनिक गर्‍यो।

अत्याधुनिक प्रविधिको ११ दिने सङ्घर्ष
नदीको तीव्र बहाव र धमिलो पानीका कारण सुर्खेतबाट पुगेकाे गोताखोरले मात्र सम्भव नभएपछि चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन शिक्षालयबाट अत्याधुनिक उपकरणसहितको टोली पुग्याे । सशस्त्र प्रहरीका निरीक्षक प्रेम तामाङको कमाण्डमा आएको ५ जना गोताखोरको टोलीले ११ दिनसम्म नदीमा स्क्यान गर्‍यो।

हवाई निगरानीका लागि ड्रेन क्यामेरा, धमिलो पानीमुनिका वस्तुको आकृति हेर्न सोनार क्यामेरा, ढुङ्गाका साँघुरा चेपभित्र नियाल्न बोरस्कोप क्यामेरा र पानीमुनि गाडीको फलाम तान्न रिभर भेहिकल म्याग्नेटसमेत प्रयोग गरिए।

तर, कर्णालीको उर्लिदो बहाव र बर्खाको भेलका अगाडि प्रविधि पनि लाचार बन्यो । ११ दिनसम्म निरन्तर खोज्दा पनि गाडीको कुनै अत्तोपत्तो लाग्न सकेन।

अन्ततः नदीको सतह अत्यधिक बढेपछि कुनै उपाय नलाग्दा असार २९ गते गोताखोर टोली फर्किएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख श्रवणकुमार विकले जानकारी दिए।

१५० किलोमिटरसम्मको खोजी र भेटिएका शव
गाडी नदीमै हराए पनि कर्णालीले पाँच जिल्लाका विभिन्न किनारहरूमा पुर्याएर शवहरू फालिदियाे । दैलेख प्रहरीले दुर्घटनास्थलमा मात्र केन्द्रित नभई नदी तटीय क्षेत्रका नागरिकलाई शव देखिए खबर गर्न सूचना जारी गरेको थियो। यस क्रममा नदीले छुने पाँच जिल्लाबाट एक सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएका थिए।

दैलेख र अछाम क्षेत्र : तल्लो डुङ्गेश्वर, रहफ, धौलाबगड, बर्खालथाइ, जम्फुगाड, लामागाड, पाल्तवस्ती, जंगलाघाट, मालुमेला, टाटालीघाट र बगरखेतका गाउँहरू।

सुर्खेत क्षेत्र : करंगे, डाङडुङ्गे, मालुमेला, बार्केगाउँ, बाझजुडी गाउँ, बेनिघाट, तालागाउँ, देवाथला गाउँ, पिपलकुना (पाल्पाघाट), धम्मु, बोला, खारगडी गाउँ, सोभानचौर गाउँ, जामुने, भुँडेभावर, केवाडी, कुमाला, घाटगाउँ र कुइनेसम्मका नदी किनारहरू।

कैलाली र बर्दिया क्षेत्र : ठूलीगाड, पीपलसैनी, कोल्तडी, सुगरखाल, मालेख, चिसापानीदेखि तल बर्दिया र कैलालीका दुवै भँगालाहरू।

१. मेखे तिरुवा (२२ असार) : दुर्घटनास्थलबाट झन्डै १५० किलोमिटर टाढा कैलालीको मोहन्याल गाउँपालिकाको सोल्टास्थित कर्णाली नदीमा मेखे तिरुवाको शव भेटियो । २३ असारमा उनका २५ वर्षीय छोरा रविन्द्र तिरुवाले टिकापुर अस्पताल पुगेर बुवाको पहिचान गरे।

२. सिर्जना खड्का (२३ असार) : दुर्घटनास्थलबाट करिब ७० किलोमिटर तल सुर्खेतको चौकुने गाउँपालिका–४ डाङडुङ्गेमा स्थानीयले महिलाको शव तैरिरहेको भेटे। पछि उक्त शव कालिकोटकी १८ वर्षीया सिर्जना खड्काको भएको पुष्टि भयो।

३. तुलाराम सुवेदी (२७ असार) : दुर्घटनास्थलबाट करिब ३५ किलोमिटर दूरीमा अछामको तुर्माखाद गाउँपालिका–२ जम्फुगाडमा भेटिएको पुरुषको शव चालक तुलाराम सुवेदीको भएको पुष्टि भयो।

किन भयो खोजी कार्य स्थगित ? 
सडकबाट कर्णाली नदीमा खसेको गाडीको सिट र यात्रुहरूका झोलाहरू स्थानीयले अछाम र दैलेख जोड्ने झोलुङ्गे पुल नजिकै फेला पारेका थिए। तर गाडीको अन्य भाग र सहचालक रामप्रसाद सुवेदीको अवस्था अझै अज्ञात छ।

‘११ दिनसम्म भोक, प्यास र मौसमको प्रतिकूलता नमानी हरेक भँगालो र खोंचहरूमा खाेज्याै,’ प्रमुख विकले भने, ‘दुर्घटनास्थल साङ्गेतडादेखि दैलेखको तल्लो डुङ्गेश्वरसम्मको १३ किलोमिटर क्षेत्रमा मान बस्तीविहीन, साँघुरो र कठिन खोँच रहेछ । हिँड्ने बाटोसम्म नभएको त्यो ठाडो भीर र नदी किनारमा कठिन यात्राका विच डोरीको सहाराले झुन्डिएर, ज्यानको बाजी थापेर खाेजिएकाे थियाे ।’

बर्खाको समयमा नदीको बहाव अत्यधिक बढेकाले कुनै उपाय नलागेपछि दैलेख प्रहरीले गाडी खोज्ने काम तत्कालका लागि स्थगित गरेको उनले बताए । उनकाअनुसार बेपत्ता रहेका सहचालक रामप्रसादको खोजीका लागि पाँचै जिल्लाका प्रहरीसँग समन्वय गरी तटीय क्षेत्रमा निगरानी जारी राखिएको छ।

दुर्घटनाका तीन अनुत्तरित प्रश्न
प्रहरीको प्रारम्भिक अनुसन्धानले दुर्घटनास्थलको सडक खण्ड त्यति कठिन वा जोखिमपूर्ण नरहेको देखाएको छ। हल्का उकालो सडकबाट गाडी सडक किनाराको रुखमा बजारिँदै नदीमा खसेको छ।

गाडीको नम्बर प्लेटसहितको केही भाग किनारमै रहँदा सुरुमा खोजीमा सहज भए पनि गाडी नदीको फेदमा हराएपछि दुर्घटनाले तीन वटा अनुत्तरित प्रश्न भने जिवितै छाडेको छ । पहिलो, के विपरीत दिशाबाट तीव्र गतिमा आएको ट्रकले धेरै च्यापेका कारण फोर्स गाडी खसेको हो ? दोस्रो के गुड्दागुड्दै गाडीको स्टेरिङ वा ब्रेक फेल हुने जस्ता यान्त्रिक समस्या आएको थियो ? र तेस्रो, के चालकको कुनै असावधानी वा थकानका कारण भएको मानवीय त्रुटि थियो ?

गाडी नदीको गहिराइमा बिलाएकाले यान्त्रिक जाँच असम्भव छ। किनकी दुर्घटनाको सत्यतथ्य ओकल्न सक्ने चालक तुलाराम आफैँ मृत भेटिसकेका छन्।

सुर्खेत पञ्चपुरी माझिगाउँका सुवेदी परिवारमा कहिल्यै निको नहुने घाउ छाडेको यो दुर्घटना कसरी भयो भन्ने यकिन सत्य पनि चालकसँगै कर्णालीको गहिराइमा विलीन भएको छ।

तपाईको प्रतिक्रिया