सुर्खेतकै चिनारी बुलबुले कसको लापरबाहीले सुक्यो ?

नयाँ ताल खन्दा मूल मोडिएको आशंका, पर्यटक निराश

सुर्खेत । सुर्खेत भन्नेबित्तिकै देश-विदेशमा रहेका नेपालीको मानसपटलमा झट्ट आउने नाम हो बुलबुले ताल । सुर्खेतमा बुलबुले ताल… गीतबाटै अन्तर्राष्ट्रियस्तरमा पहिचान बनाएको हाे ।

पर्यटकीय गन्तव्य बुलबुले उद्यान भित्रकाे प्रमुख तालमा जमिनमुनिबाट बुलबुल गर्दै प्राकृतिक रूपमा पानी निस्कने र १० वटा कलात्मक ढुङ्गेधाराबाट अविरल बगिरहने बुलबुलेको मुख्य स्रोत सुकेको छ।

ऐतिहासिक पहिचान बोकेको ताल नै सुकेपछि अहिले सुर्खेतको पर्यटन मात्र होइन, समग्र पहिचान नै संकटमा परेको छ। वीरेन्द्रनगर नगरपालिकाले २४ लाख रुपैयाँ लागतमा पुराना संरचना भत्काएर कलात्मक ढुङ्गेधारा निर्माण गरेकाे थियाे ।

‘हामीले ताललाई क्षती पुग्ला भन्ने डरकै कारण पूराना कुनै पनि संरचनामा नछोएर, मेसिनरी साधान प्रयोग नगरेर कलात्मक बनाउने र पानी लिकेज रोक्ने काम मात्रै गरेका हौं,’ वीरेन्द्रनगर नगरपालिकाका इन्जिनियर यज्ञ कार्की भन्छन्, ‘काम सकिएपछि जडान गरिएका नयाँ धाराबाट पानी बगेकै थियो । अहिले एक्काशी किन बग्न छाड्याे अचम्मित छाैं ?’

निर्माण सम्पन्न भएसँगै ती धाराबाट शुरूमा पानी बगेपनि अहिले पुनः बग्नै छाडेको छ। यसको मुख्य कारण भू तथा जलाधार व्यवस्थापन कार्यालयले निर्माण गरेकाे अर्काे आयोजनालाई ठानिएको छ।

कार्यालयले प्रवीण निर्माण सेवासँग १ करोड १२ लाख रुपैयाँको ठेक्का सम्झौता गरी मुख्य ताल र बोटिङ हुने तालको बीचमा अर्को नयाँ ताल निर्माण गरिरहेको छ।

आगन्तुक र रैथाने चराचुरुङ्गीका लागि त्यस क्षेत्रका झन्डै एक सयभन्दा बढी रुखहरू काटेर भागमा यसअघिकाे सानाे ताललाई विस्तार गरिएकाे हाे ।

जमिनमुनिको प्राकृतिक पानीको तह बीचको तालका कारण गहिराे भएकाे र सानो तालमुनि रहेको मूल पानीको स्रोत डाइभर्ट भएर उतै छिरेको स्थानीय र प्राविधिकहरूको अनुमान छ।

वर्षाको मौसम सुरु भइसक्दा समेत ऐतिहासिक धाराहरू सुक्खा हुनुले सबैकाे चासाे बढेकाे छ । इन्जिनियर कार्कीले पनि काम सकिएपछि नयाँ धाराबाट पानी बगेको भए तापनि अहिले एक्कासि पानी रोकिनुमा बीचको ताल गहिरो गराउँदा स्रोत अन्तै मोडिएको हुनसक्ने आशंका व्यक्त गरे ।

२०३० सालमा तत्कालीन राजा वीरेन्द्रको पहलमा उद्यानको रूपमा विकास गरिएको बुलबुले ऐतिहासिक र आर्थिक दुवै दृष्टिकोणले सुर्खेतको मेरुदण्ड हो ।

तर अहिले यहाँ पुग्ने पर्यटकहरू ढुङ्गेधारामा पानी नदेखेर निराश हुँदै फर्कने गरेका छन्। सामान्य दिनमा १५ देखि २० हजार र शनिबार तथा बिदाका दिन १ लाख रुपैयाँभन्दा बढीको टिकट बिक्री हुने यो उद्यानबाट वार्षिक १ करोडभन्दा बढी राजस्व संकलन हुने गरेको छ ।

ताल सुक्दा राष्ट्रिय गौरव र गीत-संगीतमा निकै चर्चामा रहेकाे  स्थलकाे धाराबाट पानी बग्नै छाड्दा सुर्खेतकै बदनाम समेत गराइरहेको छ। यसबाहेक खडेरी र संकटको समयमा तिनै ढुङ्गेधारामा पुगेर नुहाउने, कपडा धुने र घरायसी प्रयोजनका लागि पानी भरेर गुजारा चलाउने गरिएकाे थियाे ।

नगरपालिकाले घुम्न पुगेका पर्यटकहरूमा नकारात्मक प्रभाव परेकाे भन्दै केही महिना यता कपडा धुन र नुहाउन बन्द गरेकाे छ । बुलबुलेको अस्तित्व जोगाउन हाइड्रोलोजिस्ट र भूगर्भविद्को विज्ञ टोली परिचालन गरी पानीको मूल कुन दिशामा मोडिएको हो वा कुन संरचनाले पानी थुनेको हो भनी विस्तृत भौगोलिक अध्ययन गरिनुपर्ने तर्क इन्जिनियर कार्की बताउँछन् ।

बीचमा खनिएको नयाँ तालका कारण पानी चुहिएर मूल सुकेको हाे भने तालको तल्लो भागमा चिम्ट्याइलो माटो फिँजाउने वा वाटरप्रुफिङ प्रविधि अपनाएर पानीलाई आफ्नो पुरानो प्राकृतिक मार्ग तर्फ नै फर्काउनु पर्ने माग उठिरहेकाे छ।

समयमै सरोकारवालाको चेत नखुल्ने र यही हविगत रहने हो भने भविष्यमा बुलबुले ताल इतिहासका पाना र पुराना गीतहरूमा मात्र सीमित हुने खतरा निश्चित भएकाे भन्दै घुम्न जानेहरूले चिन्ता व्यक्त गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया