सुर्खेत । ‘कर्णालीका सुइना अब हाम्मा सुइना’ १६ माघ २०८२ को त्यो कठ्याङ्ग्रिँदो जाडोमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह ‘बालेन’ चुनावी प्रचारको सिलसिलामा कालिकोट पुग्दा सामाजिक सञ्जालमा पोखेको यो एउटा रैथाने वाक्यले कर्णालीका तन्नेरी मात्र होइन, वर्षौँदेखि राज्यको उपेक्षा सहेर बसेका वृद्धवृद्धाहरूको मनमा पनि आशाको मधुरो दियो बालेको थियो ।
कालिकोटको विकट भूगोल र पृष्ठभूमिमा सदरमुकाम देखिने गरी खिचिएको त्यो तस्बिर र स्टाटस कर्णालीको मन जित्ने एउटा ऐना बनेको थियो ।
त्यो सार्वजनिक उद्घोषको ठीक पाँच महिनापछि, अर्थात् नयाँ आर्थिक वर्ष २०८३/०८४ को पहिलो दिन तिनै बालेन क्याबिनेटका भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल कर्णालीका सुइनाहरूको यथार्थ बुझ्न सिंहदरबारको कुर्सी छोडेर कर्णालीकाे स्थलगत यात्रामा निस्किएका छन् ।
मन्त्री लम्साल कुनै परम्परागत तामझाम, स्कर्टिङ र स्वागत-सत्कारको भोको भएर कर्णाली आएका होइनन् । उनी त कर्णालीको हिलो, धुलो र यहाँका नागरिकले दैनिक जीवनमरणको दोसाँधमा भोग्दै आएको सास्तीको असली समाधान खोज्न निस्किएका हुन् ।

शुक्रबार बिहान नियमित जहाजबाट नेपालगञ्ज ओर्लिएका मन्त्री लम्सालले कुनै विश्राम नलिई सिधै कर्णाली राजमार्गको जमुनाह–सुर्खेत खण्डको अवस्था बुझ्दै आफ्नो यात्रा अगाडि बढाए ।
वर्षेनी करोडौँ बजेट विनियोजन हुने, तर कहिल्यै स्तराेन्नति नहुने कोहलपुर–सुर्खेत सडक बारे मन्त्रीले चासाे लिएका थिए । विगत लामो समयदेखि कर्णालीलाई बाँकी नेपालसँग जोड्ने भेरी नदीको पुरानो पुल अहिले जीर्ण अवस्थामा छ ।
गुड्ने गाडीहरू मात्र होइन, कर्णालीको भविष्य नै त्यहाँ थुरथुर काँपिरहेको भान हुन्छ । पुलको स्थलगत निरीक्षण गर्दै मन्त्री लम्सालले अब आश्वासनको दिन गएको भन्दै आउँदो आर्थिक वर्षमा यो जीर्ण पुलको मर्मत मात्र नभई नयाँ विकल्पका लागि बजेट सुनिश्चित गरिने प्रतिबद्धता जनाए ।
मन्त्रीसँगै सुर्खेत क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सांसद रमेश सापकोटा विगतमा केन्द्रले कर्णालीलाई हेर्ने दृष्टिकोण सधैँ दया र उपेक्षाको रहेको स्मरण गर्दै अहिले मन्त्री आफैँ सडकको हिलाम्मे अवस्था नियाल्न र नागरिकका वास्तविक पीडा छातीमा महसुस गर्न आउनु कर्णालीकै लागि सुखद संकेत भएको बताउँछन् ।
सुर्खेत सडक डिभिजन कार्यालयमा पछिल्लो कार्यप्रगति र प्राविधिक अड्चनहरूको ब्रिफिङ लिएलगत्तै मन्त्री लम्साल कर्णाली राजमार्गको उकालो लागेका छन् । कर्णालीका साँघुरा घुम्ती, पहिरोको जोखिम र खाल्डाखुल्डीलाई शरीरले महसुस गर्दै उनी शुक्रबार साँझ कालिकोट पुगेका छन् ।
शुक्रबार कालिकोटकै बास बस्ने कार्यतालिका बनाएका मन्त्री लम्साल शनिबार कालिकोट–नाग्म–गमगढी सडकको अवस्था हेर्न मुगुको गमगढीसम्म पुग्नेछन् ।
आइतबार पुनः कर्णाली राजमार्गको खुलालु–कोल्टी–सिमकोट सडक भएर बाजुराको कोल्टीहुँदै नेपाल–चीन सीमानाका हिल्सा र हुम्लाको सिमकोटसम्मको सडक सञ्जालको निरीक्षण गर्ने कार्यतालिका छ ।
यो पुरै यात्रामा मन्त्री लम्सालले कुनै विलासी गाडी प्रयोग नगरी जनतासँगै उभिएर उनीहरूकै रैथाने भाषामा दुःखसुख सुन्ने योजना बनाएका छन् ।
कर्णालीको विकास नहुनुमा जति भौगोलिक विकटता जिम्मेवार छ, त्यति नै ठेकेदारहरूको ढिलासुस्ती पनि कारक रहँदै आएको अवस्थामा अब बजेट पुगेन भन्दै बहानाबाजी गर्ने छुट कसैलाई नहुने र निर्धारित समयमै ठेक्का व्यवस्थापन गर्न मन्त्री आफैँ स्थलगत निरीक्षणमा रहेकाे सांसद सापकोटा बताउँछन् ।
भौगोलिक रूपमा जटिल मानिएको कर्णाली राजमार्गको सुर्खेत–दहीखोला ६८ किलोमिटर हेर्ने क्षेत्राधिकार सडक डिभिजन कार्यालय सुर्खेतको छ । दहिखोला–जुम्ला सदरमुकाम १०५ किलोमिटर र नाग्म–गमगढी ९४ किलोमिटर सडक डिभिजन जुम्लाले हेर्दै आएको छ ।
यस्तै, कर्णाली राजमार्गको कालिकोटको खुलालुदेखि हुम्लामा पर्ने नेपाल–चीन सिमानासम्मको सडक दूरी २६९ किलोमिटर रहेको छ, जसमध्ये १२३ किलोमिटर सडक अहिले कर्णाली करिडोर दक्षिण खण्ड (खुलालु–सल्लिसल्ला) र सल्लीसल्ला–सिमकोट–हिल्सा सडक १४६ किलोमिटर कर्णाली करिडोर उत्तर खण्डको क्षेत्राधिकार भित्र पर्दछ ।
वर्षातको यो भेल, हिलो र पहिरोको जोखिमपूर्ण मौसममा राज्यको जिम्मेवार मन्त्री कर्णाली ६ र सुदूरपश्चिकाे बाजुरा जिल्लाको सडक बुझ्न निस्किनुले सिंहदरबारमा बस्नेहरूलाई कर्णालीको भूगोल र त्यहाँका मान्छेको सास्ती कति छ भन्ने कुराको बोध गराउने आशा जगाएको छ ।
नागरिकको प्रत्यक्ष सरोकार जोडिएको सडक पूर्वाधारलाई व्यवस्थित र सुरक्षित बनाउन मन्त्री आफैँ नयाँ आर्थिक वर्षको सुरुवातमा निरीक्षणमा निस्किनुले प्रधानमन्त्री बालेन्द्र साह नेतृत्वको सरकारले कर्णालीलाई भाषणमा होइन, बजेट र प्राथमिकतामा राखेको छ भन्ने बलियो सन्देश दिएको छ ।
कालिकोटको भिरमा उभिएर पाँच महिनाअघि साहले लेखेकाे त्यो ‘हाम्मा सुइना’ शब्द अब कर्णालीकै सडकहरू समयमै कालोपत्रे गराउनमा गम्भीर बन्नेछन भन्नेमा नागरिकमा आशा देखिएकाे छ ।

सुशील खड्का । १ श्रावण २०८३, शुक्रबार २०:५६