कोहलपुर–सुर्खेत दैलेख १३२ के.भी. प्रसारण लाइन आयोजनाका लागि जग्गा अधिग्रहण गरिँदै


सुर्खेत । नेपाल विद्युत प्राधिकरणले कोहलपुर–सुर्खेत दैलेख १३२ के.भी. प्रसारण लाइन आयोजनाका लागि जग्गा अधिग्रहण गर्न लागेको छ । कोहलपुर–सुर्खेत दैलेख १३२ के.भी. प्रसारण लाइनअन्तर्गत सुर्खेत–दैलेख १३२ के.भी. प्रसारण लाइन खण्डको सुर्खेत जिल्ला वीरेन्द्रनगर–१३ जर्बुटामा जग्गा अधिग्रहण गर्न लागेको हो ।



१३२ के.भी. प्रसारण लाइनका टावर निर्माण गर्नका लागि वीरेन्द्रनगर–१३ जर्बुटाका ११ जना जग्गा धनीको जग्गाहरु अधिग्रहण गरिने भएको छ ।

जग्गा अधिग्रहणका लागि जिल्ल प्रशासन कार्यालय सुर्खेतले एक सूचना जारी गर्दै जग्गा प्राप्ति ऐन, २०३४ बमोजिम स्थायी रूपले प्राप्त गर्नुपर्ने भएकोले जग्गा प्राप्ति ऐन, २०३४ को दफा ९ को उपदफा १ को प्रयोजनाको निमित्त सम्बन्धित सबैको जानकारी गराएको छ ।

सूचना प्रकाशित गरिएको मितिले बाटो म्याद वाहेक १५ दिनभित्र सरोकारवाला व्यक्तिले उक्त जग्गामा घर टहरा भए सो समेतको मुआब्जा दावी गर्न आ–आफ्नो हकदैया वा भोग चलन सम्बन्धी निस्सा प्रमाण सहित रीतपूर्वकको निवेदन नेपाल विद्युत प्राधिकरण, कोहलपुर–सुर्खेत–दैलेख १३२ के.भी. प्रसारण लाइन आयोजना कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा दिन सक्नेछ्न् ।

तपाईको प्रतिक्रिया