
सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाली कम्युनिष्ट पार्टी(नेकपा) र नेपाली कांग्रेसका सांसदहरुले मुख्यमन्त्री कँडेल बिरुद्ध अविश्वासको प्रस्ताव बिहिबार दर्ता गरेका हुन् ।
नेकपाका ११ जना, पूर्वमुख्यमन्त्री तथा हाल प्रगतिशिल लोकतान्त्रिक पार्टीका राजकुमार शर्मा र कांग्रेसका पाँच जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । बुधबार सत्तारुढ दल नेपाली कांग्रेसले सरकार छाडेपछि विपक्ष दलहरु मिलेर अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।
नेकपा र नेपाली कांग्रेसबीच कुनै सहमति नभएको अहिले अविश्वासको प्रस्ताव मात्र दर्ता गरिएको नेकपाका सचेतक कृष्णबहादुर जिसीले बताए । उनले अरु बिषयमा छलफल हुन कांग्रेससँग बाँकी नै रहेको बताए ।

शाहीलाई द्रोश्रो पटक मुख्यमन्त्री बन्ने बाटो खुल्यो
अविश्वासको प्रस्ताव ल्याउने सांसदहरुले नेपालको संविधानको धारा १८८ को उपधारा ५ बमोजिम नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरेका छन् । योसँगै शाहीको द्रोश्रो पटक मुख्यमन्त्री बन्ने बाटो खुलेको छ ।

मुख्यमन्त्रीले राजीनामा नदिएकाले अविश्वासको प्रस्ताव दर्ता गरिएको कांग्रेसका प्रमुख सचेतक हिक्मत बहादुर विष्टले बताए । मुख्यमन्त्री कँडेल अल्पमतमा परेपछि राजीनामा दिनुपर्नेमा नदिएकाले अविश्वासको प्रस्ताव दर्ता गरिएको उनले बताए ।
एमालेका मुख्यमन्त्री कँडेलले सहमति अनुसार सरकार नछाडेकाले कांग्रेसले समर्थन फिर्ता लिनु परेको र समर्थन फिर्ता लिएपनि राजीनामा नदिएकाले अविश्वासको प्रस्ताव दर्ता गरिएको नेपाली कांग्रेस संसदीय दलले जनाएको छ ।

नेपाल कर्म । ३२ असार २०८३, बिहीबार २२:०१