सुर्खेत । वीरेन्द्रनगरको मुटु, फोरलेन सडक खण्डको जुम्ला रोडको अवस्था देख्दा लाग्छ, यहाँ कुनै नदी बगिरहेको छ । तर यो नदी होइन, ढल निकास नभएर जमेको फोहोर पानीको ताल हो ।

मंगलगढी चोकदेखि शनिहल जाने चोकसम्मको यो खण्डमा गाडी गुडाउने सडक नभएर हिलो र पानीको पोखरी बनेको छ । जसले अहिले वारपार गर्न र व्यवसायीहरूलाइ सामान लाेडअनलाेड गर्न दिनहुँ सास्ती खेपिरहेका छन् ।


नागरिकहरू हिलाेका कारण बैंकिङ सेवा लिन हाेस् वा अन्य समान खरिदका लागि पसलसम्म पुग्नै समस्या हुने गरकाे छ । यता व्यवसायीहरूले ग्राहक आउने आशा मारेका छन् ।
यो सबै पीडाको मूल कारण फोरलेन सडक निर्माणकै क्रममा भएको त्रुटी हो । नालीको उचाइ अनुसार पानीको निकास नमिलाउँदा सानो पानी पर्दा पनि सडक जलमग्न हुने गरेको छ ।

यो सडक खण्ड सडक डिभिजन कार्यालय सुर्खेतको क्षेत्राधिकारभित्र पर्दछ । तर समयमै नाला निर्माण नभएका कारण आम नागरिकहरूले वीरेन्द्रनगर नगरपालिकालाई प्रश्न उठाइरहेका छन् । नगरपालिकाले किन काम गरेन ? भन्ने प्रश्न जताततै सुनिन्छ ।
सुब्बाकुना-बाँगेशीमल फोरलेन सडकको करिब १० किलोमिटर दुरी ५० मिटर चौडाईसहित सडक विभागको क्षेत्राधिकारमा पर्छ। यस क्षेत्राधिकारभित्र नगरपालिकाले कुनै पनि काम गर्न पाउँदैन् ।

तर सडक कार्यालयको उदासीनताका कारण वीरेन्द्रनगरको व्यस्त र मुख्य बजार क्षेत्र अस्तव्यस्त बनेको छ । समस्या समाधानका लागि सडक कार्यालय सुर्खेतले गत जेठ ४ गते ठेक्का सम्झौता गरेको थियो ।
असार मसान्तसम्म सक्ने लक्ष्यसहित एमएसबिबि कन्ट्रक्शन एण्ड सप्लायर्स सिन्धुपाल्चोकले २ करोड १० लाखको ठेक्का हात पारेको हो । राष्ट्रिय बाणिज्य बैंक सुर्खेत शाखा अगाडि केही काम पनि सुरु भएको थियो, तर अहिले काम रोकिएको छ ।
असार मसान्त सकिनै लाग्दा पनि ठेकेदारले काम पूरा नगर्दा स्थानीय नागरिक र व्यवसायीहरू मारमा परेका छन् । सडक डिभिजन कार्यालय सुर्खेतका सूचना अधिकारी ईन्जिनियर रुपेश केसीले भने, ‘अहिले काम रोकिएको छ । ठेक्का म्याद थप गरेर पानीको निकास दिन नाला निर्माणकाे कामलाइ गति दिन ताकेता गरिरहेका छौं ।’
केसीले फोरलेनका विभिन्न खण्डको नाली सुधार्नकै लागि ठेक्का व्यवस्थापनबाट काम भइरहेको बताए । ‘त्यहाँको दीर्घकालीन समस्या समाधानकै लागि ठेक्का लगाइएको हो,’ केसीले थपे, ‘बजेट ढिलो प्राप्त भएकाले प्रक्रियामा जान ढिलाइ भएको र अब जसरी पनि काम सकाउन कार्यालयले ताकेता गर्नेछ ।’
फाेरलेन सडककै आमाको भान्सा घर अगाडी, दैलेख रोड चोक इत्राम खोला पुलसम्मको ढल निकासका लागि यहीँ ठेक्काबाट काम गर्न भनेको हो ।
सडक कार्यालयको ढिलासुस्ती र ठेकेदारको लापरवाहीका कारणा कति दिन यस्तो सास्ती खेप्नुपर्ने भन्दै नागरिक र व्यवसायीहरूले आक्राेश पाेखिरहेका छन् ।
पानी पर्दा जलमग्न हुने सडक र निकास नहुँदा जम्ने फोहोर पानीले नागरिकको स्वास्थ्यमा समेत असर पारिरहेको छ ।

सुशील खड्का । ३१ असार २०८३, बुधबार ०८:१८