सुर्खेत । वीरेन्द्रनगर–४ कुमाई चोक नजिकै लहलहाइरहेको हरियो बोटबिरुवाको एउटा कथा छ । यो कुनै सामान्य तरकारी वा बगैँचा होइन, बरु कर्णाली प्रदेशमा पहिलो पटक व्यावसायिक रूपमा भित्र्याइएको वनस्पति मोरिङ्गा अर्थात शीतल चीनीको व्यावसायिक खेती हो ।
परम्परागत कृषि प्रणालीबाट माथि उठेर केही फरक र आर्थिक रूपमा उच्च प्रतिफल दिने सोचका साथ गीता खड्काले सुरु गरेको यो प्रयासले अहिले कर्णालीमा कृषिको नयाँ सम्भावना देखाएकाे छ।

नयाँ सम्भावनाको खोजीमा रहेकी खड्काले २०७८ सालमा मोरिङ्गाको व्यावसायिक खेती थालेकी हुन् । प्रदेश राजधानीकै मुटु वीरेन्द्रनगर–४ मा १२ कठ्ठा जग्गा भाडामा लिएर उनले समृद्धि मोरिङ्गा एग्रो फर्म दर्ता गरी यसको विधिवत आरम्भ गरेकी हुन्।
सुरुवाती दिन सम्झँदै उनी भन्छिन्, ‘मैले सुरुमा १२ सय बिरुवाबाट व्यावसायिक खेती थालेकी हुँ। रोपेको मात्र ६ महिनादेखि नै आम्दानी दिन सुरु गर्ने यो खेतीमा निकै ठूलो बहुउपयोगी अर्गानिक गुण लुकेको छ।’
अहिले उनको कृषि फार्ममा मोरिङ्गाका बिरुवाहरू मात्र होइन, बजारको माग धान्नका लागि नर्सरीसमेत स्थापना गरिएको छ। बजारमा यसको माग अत्यधिक छ । तर सिमित स्रोत र साधनका कारण उनले बजारको माग अनुसार उत्पादन पुर्याउन सकेकी छैनन्।
‘बजारमा मोरिङ्गाको पाउडर र पातको माग यति धेरै छ कि मैले माग अनुसारको आपूर्ति गर्नै सकेकी छैन। तर, राज्यले यस्ता बहुउपयोगी र रैथाने जस्तै बनिसकेका व्यावसायिक खेतीतर्फ किसानलाई आकर्षित गर्न वा प्रवर्द्धन गरिदिन कुनै चासो नदेखाउँदा भने दुःख लाग्छ,’ खड्काकाे गुनासो छ ।
गीताले उत्पादन गरेको मोरिङ्गाको प्रशोधित पात र पाउडरले नेपाली बजार मात्र होइन, अन्तर्राष्ट्रिय बजारमा समेत पुग्ने गरेकाे छ। यहाँ उत्पादित मोरिङ्गा देशका प्रमुख सहरहरू काठमाडौँ, पोखरा, र वीरगन्जसम्म सहजै पुग्ने गरेको छ।
सुर्खेतको माटोमा उब्जिएको यो मोरिङ्गा अहिले अमेरिका, जर्मनी र अस्ट्रेलिया जस्ता विकसित देशहरूमा समेत निर्यात भइरहेको उनले बताइन् ।
पहाडी क्षेत्रमा रहेका बाँझो जमिनहरूलाई सदुपयोग गर्न गीताले नयाँ योजना अघि सारेकी छन्। कुनै पनि किसानले आफ्नो बाँझो जग्गामा मोरिङ्गा खेती गर्न चाहेमा आफूले बिरुवा उपलब्ध गराउने र त्यसबाट उत्पादित कच्चा पदार्थ वा बजारको पूर्ण ग्यारेन्टी आफैँले लिने बताइन् ।
के हाे माेरिङ्गा ?
वैज्ञानिक नाम Moringa oleifera रहेको यो वनस्पतिलाई नेपालीमा शीतलचिनी, सजिवन वा सोइजन पनि भनिन्छ। यो तीव्र गतिमा बढ्ने र खडेरी सहन सक्ने वनस्पति हो। यसको पात, फूल, फल (बोडी), डाँठ, र जरासमेत उपयोगी हुने भएकाले यसलाई मानव स्वास्थ्यका लागि सुपरफूड वा चमत्कारी वनस्पति मानिन्छ।
माेरिङ्गाका फाइदा
पोषक तत्वको भण्डार : यसमा प्रचुर मात्रामा भिटामिन ‘सी’, भिटामिन ‘ए’, क्याल्सियम, फस्फोरस, पोटासियम र मिनरल्स पाइन्छ।
रोग प्रतिरोधात्मक क्षमता : यसमा पाइने एन्टिअक्सिडेन्टले शरीरको इम्युनिटी पावरलाई अत्यधिक बढाउँछ ।
प्रोटिन र आइरनको स्रोत : दूधको तुलनामा यसमा बढी क्याल्सियम र अण्डाको तुलनामा बढी प्रोटिन पाइने हुनाले यसलाई पोषणको शक्तिशाली स्रोत मानिन्छ ।
दीर्घरोगमा उपयोगी : रक्तचाप, मधुमेह र ग्यास्ट्रिक जस्ता समस्या भएका बिरामीका लागि यसको पातको पाउडर नियमित सेवन गर्नु निकै फाइदाजनक हुन्छ।
नेपालको भौगोलिक बनावट अनुसार मोरिङ्गा खेती समुद्र सतहदेखि करिब १,४०० मिटरसम्मको उचाइ (तराई, भित्री मधेस र तल्लो पहाडी क्षेत्र) मा गर्न सकिन्छ।
तापक्रम : २५ देखि ३५ डिग्री सेल्सियसको तापक्रम यसको वृद्धिका लागि उत्तम हुन्छ ।
माटो : पानी नजम्ने, बलौटे दोमट वा खुकुलो माटो यसका लागि सर्वोत्तम मानिन्छ । यसले खडेरी सहजै सहन सक्ने भएकाले सिँचाइको असुविधा भएको ठाउँमा पनि यो फस्टाउँछ।
नेपाल जस्तो कृषिप्रधान देशमा जहाँ हजारौँ हेक्टर जमिन सिँचाइ अभाव वा जनशक्तिको अभावमा बाँझो पल्टिएको छ । त्यहाँ मोरिङ्गा खेती गर्न सकिन्छ । कर्णालीका रूखा, सुख्खा र पहाडी बाँझो पाखाहरूमा यो खेती गरेर राम्रो आम्दानी लिन सकिने खड्का बताउछिन।
अन्य फलफूल वा जडिबुटी जस्तो वर्षौँ पर्खनु नपर्ने, रोपेको ६ महिनादेखि नै यसका पातहरू काटेर बेच्न वा पाउडर बनाउन सुरु गर्न सकिने उनले जानकारी दिइन। अर्गानिक मोरिङ्गा पाउडरको अन्तर्राष्ट्रिय बजारमा उच्च मूल्य रहेकाले यो निर्यातको ठूलो माध्यम बन्न सक्ने विश्वास छ ।
कर्णालीमा व्याप्त बाल कुपोषण र महिलाहरूमा हुने रक्तअल्पता कम गर्न मोरिङ्गाको स्थानीय उत्पादन र उपभोग अचुक औषधि बन्न सक्छ।
व्यक्तिगत लगानीबाट कर्णालीमा मोरिङ्गाको जग बसालेकाले नीतिगत रूपमा सम्बोधन गर्नु राज्यको दायित्व भएकाे खड्काले बताइन् । कृषिमा अनुदान, आधुनिक प्रशोधन मेसिनरीमा सहुलियत र बजार प्रवर्द्धनमा सरकारी निकायले सहयोग गर्ने हो भने मोरिङ्गा खेती कर्णाली प्रदेशको गरिबी निवारण र आर्थिक समृद्धिको एउटा बलियो आधार बन्न सक्ने विश्वास उनकाे छ ।

सुशील खड्का । ३० असार २०८३, मंगलवार २०:०९