सुर्खेत । पछिल्लो समय स्वास्थ्य क्षेत्रमा कर्णाली प्रदेशले फड्को मारिरहेको छ। काठमाडौँ धाउनुपर्ने र लाखौँ रुपैयाँ खर्च गर्नुपर्ने बाध्यतालाई चिर्दै सुर्खेतस्थित प्रदेश अस्पतालले कर्णालीबासीका लागि स्वास्थ्य सेवामा नयाँ आशा जगाउँदै गएकाे हाे ।

गएको असार २३ गते सुर्खेत र कञ्चनपुरका गरी थप दुई जना बिरामीको पूर्ण रूपमा नि:शुल्क मृगौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेकाे छ। योसँगै हालसम्म अस्पतालमा मृगौला प्रत्यारोपण गराउने नागरिकको कुल संख्या ९ पुगेको छ। यसले ग्रामिण भेगका बिरामीहरूमा अब आफ्नै आँगनमा गुणस्तरीय र जटिल उपचार पाउन सकिन्छ भन्ने बलियो आत्मविश्वास जगाएको छ।

नेपाल सरकार र कर्णाली प्रदेश सरकारको नीति, बजेट तथा सहकार्य अन्तर्गत शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्राविधिक सहयोगमा यो सेवा सम्भव भएको हो। २०७९ माघ २१ गते पहिलो पटक एक जनाको मृगौला प्रत्यारोपण गरेर सुरु गरिएकाे थियाे ।
पछिल्लाे पटक सुर्खेत र कञ्चनपुरका दुई जनाले प्रदेश सरकारबाट प्राप्त बजेट र नेपाल सरकारको सहयोगका कारण बिना कुनै शुल्क यो जटिल उपचार सेवा पाएका हुन्।

अस्पताललाई पूर्ण रूपमा सक्षम बनाउन चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धिमा विशेष जोड दिइएको अस्पतालका सूचना अधिकारी अनिता ज्ञवालीले जानकारी दिइन्।
अस्पतालका जनरल सर्जन डा. विकास खड्काले मृगौला प्रत्यारोपण सम्बन्धी एक वर्षे फ्लाेसीप कोर्ष सम्पन्न गरी सेवामा कार्यरत छन् । साथै, जनरल फिजिसियन डा. राजकमल मानन्धर हाल यसै कोर्षमा अध्ययनरत छन् । अस्पतालले आगामी दिनमा चिकित्सक, नर्स तथा प्राविधिकहरूलाई थप तालिममा पठाई सेवालाई अझै सुदृढ र निरन्तरता दिने योजना बनाएको ज्ञवाली बताउँछिन् ।
प्रत्यारोपणपछि अनिवार्य गरिने प्रयोगशाला सम्बन्धी महत्त्वपूर्ण परीक्षण टीएसी लेभल सेवा समेत अस्पतालमै सुचारु भइसकेकाले बिरामीहरूलाई थप राहत मिलेको ज्ञवालीले जानकारी दिइन् ।
शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका विशेषज्ञ चिकित्सकहरू डा. दिपेस श्रेष्ठ, डा. सोभित थापा, डा. रुवस नाथ योगी, डा. रोजन अधिकारी, डा. बिकिन डंगोल सहित नर्सिङ कर्मचारी र प्रदेश अस्पतालका निर्देशक डा. गणेश थापा तथा विशेषज्ञ चिकित्सक डा. विकास खड्का सहितको टोलीले मृगाैला प्रत्याराेपण सफल गरेकाे हाे ।

सुशील खड्का । २९ असार २०८३, सोमबार १६:३३