कालीकोट । सान्नीत्रिवेणी गाउँपालिका–६ स्थित काप्रिखोलामा बिहानै गएको पहिरोमा पुरिएर दुई जना स्थानीयले अकालमै ज्यान गुमाएका छन् । आफ्नै दैनिक जीविकोपार्जनको संघर्षका क्रममा घट्टमा अन्न पिस्न गएका उनीहरू कहिल्यै नफर्कने गरी पहिरोभित्र बिलाएका हुन् ।
मृत्यु हुनेहरूमा मेहलमुडी धामीगाउँका ४६ वर्षीय मन्दिर साँवत र ७६ वर्षीय लालबहादुर सावँद रहेका छन् । गाउँको पुरानो मौलिक पहिचान र जीवनको सहारा बनेको स्थानीय घट्ट नै उनीहरूका लागि अन्तिम थलो बन्न पुग्यो ।


जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार, सोमबार बिहान करिब ६ बजेतिर मन्दिर र लालबहादुर पोरिवन काप्रिखोलास्थित घट्टमा अन्न पिस्न पुगेका थिए । बिहानीको शान्त वातावरणमा घट्ट घुमिरहेकै बेला, अचानक माथिबाट खसेको पहिरोले उनीहरूको जीवनको गतिलाई सधैंका लागि रोकिदियो । करिब २५ मिटर माथिबाट आएको लेदोसहितको पहिरोले घट्टमा बसिरहेका दुवै जनालाई छिनभरमै पुरेको प्रहरीले जनाएकाे छ ।
विकट भूगोल र सञ्चारको कठिनाइका कारण बिहान ६ बजे घटेको यो घटनाबारे स्थानीयवासीले दिउँसो मात्रै प्रहरी चौकी मेहलमुडीलाई खबर गरेका थिए ।

खबर पाउनासाथ प्रहरी सहायक निरीक्षक कृष्णबहादुर खड्काको नेतृत्वमा चार जनाको टोली तत्काल घटनास्थलतर्फ प्रस्थान गरेको थियो । प्रहरी चौकीबाट करिब १० किलोमिटर पश्चिमको कठिन भूगोल पार गर्दै दिउँसो २ बजे टोली घटनास्थल पुगेकाे हाे ।
स्थानीयको सहयोगमा प्रहरीले पहिरो पन्छाएर उद्धार गर्दा दुवै जना मृत अवस्थामा फेला परेकाे प्रहरीले जानकारी दिएकाे छ ।
यो घटनाले स्थानीय मेहलमुडी धामीगाउँ शोकमा डुबेको छ । पहिरोले जीवनसँगै स्थानीयको आश्रय र परम्परागत घट्टको आधा भागसमेत नामोनिसान नरहने गरी पुरिदिएको छ ।
घटनाको गम्भीरतालाई ध्यानमा राख्दै जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख, प्रहरी नायव उपरीक्षक हिमबहादुर खत्रीको नेतृत्वमा पाँच जनाको टोली थप अनुसन्धान र कानुनी प्रक्रियाका लागि घटनास्थलमा खटिएको छ ।

नेपाल कर्म । २९ असार २०८३, सोमबार १५:५६